
काठमाडौं, वैशाख १९ । घर नजिक पानी भर्ने कुनै पँधेरो छैन । कुवाजति सबै सुकेका छन् । बर्खामा बलेँसीको तप्केनीले भरेको घैँटो पनि रित्तिइसके । त्यसैले गाउँमा अन्नभन्दा बढी खानेपानी पैँचो गर्ने प्रचलन बढेको छ एक वर्षदेखि ।
यो समस्या मकवानपुरको फाखेल गाविस–५ का बासिन्दाको हो । खानेपानी नपाएर त्राहिमाम बनेका स्थानीय आजभोलि पानीको अभावमा कसरी जीवन बिताउने भन्ने चिन्तामा छन् । ‘अहिले त पैँचो पनि पाइन छोड्यो, किनकि गाउँमै पानी छैन,’ स्थानीय रोशनी तामाङले भनिन् ।
गत वर्ष वैशाख १२ मा गएको भूकम्पले गाउँमा खानेपानीको सबै मुहान सुके । त्यसो त चैत–वैशाखमा गाउँमा पानीको हा–हाकार भूकम्प अघि पनि हुन्थ्यो । तर यसपालि तिहार लगत्तै मुहान सुकेका हुन् ।
फाखेल आसपासमा भदौ महिना यता पानी परेको छैन । ५ नम्बर वडाको सबै खानेपानी मुहान सुकेपछि कोदो खोरियाका बासिन्दालाई आजभोलि डेढघण्टा तल भागे खोल्सीमा पुग्नुपर्ने बाध्यता छ । खोल्सीमा पुगेपछि घण्टौं लाईन बस्नुपर्छ । बिहान पानी लिन गए दिउँसो आइपुगिन्छ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्