३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


धारा˗इनार सुके, खानेपानीको हाहाकार


0
Shares

-रमेश गिरी

भक्तपुर, १९ वैशाख १९ । यहाँ खानेपानीको हाहाकार भएको छ । जिल्लाका अधिकांश क्षेत्रमा धाराबाट पानी नआएको महिनौँ भएको छ । प्राकृतिक स्रोतका रुपमा रहेको ढुङ्गेधारा र इनार पनि सुकेपछि पानीको हाहाकार भएको छ ।

अनन्तलिङ्श्वर नगरपालिका–६ सिरुटार उपचोगीचोकमा धारामा पानी नआएको महिनौँ हुँदा पनि सिरुटार खानेपानी उपभोक्ता समितिले व्यवस्थित रुपमा पानी वितरण नगर्दा तल्लो क्षेत्रका बासिन्दा पानी लिन पाँच किमी टाढा जान बाध्य छन् ।

यहाँका महिलाले गाडी चढेर पाँच किमी माथि बिरुवामा पुगेर पानी ल्याउने गरेका छन् । एक महिनादेखि बसमा हालेर बिरुवाबाट पानी ल्याउन थालेको बताउँदै स्थानीयवासी रमिता श्रेष्ठले धारामा पानी नआए पनि बसमा हालेर पानी ल्याउनेको ओइरो लागेको जानकारी दिन्छन् ।

पानी ट्यांकीको क्षमताभन्दा बढी धारा वितरण गरिएको तथा समितिमा व्यापक भ्रष्टाचार हुँदा पाइप फेर्न र व्यवस्थापन गर्न नसक्दा पानीको थप सङ्कट परेको समितिकै सदस्यको आरोप छ ।

समितिमा रु १० लाखको हिनामिना भएकामा अझै असुल हन नसकेको समिति सदस्यको गुनासो छ । समितिका अध्यक्ष अच्युत मिश्र भने पाइप फेर्न र ट्यांकीको व्यवस्थापन गर्न नसक्दा पानीको अभाव भएको जिकिर गर्छन् ।

नगरकोट नगरपालिका ताथलीका बासिन्दा पानी लिन तीन किमी पर जाने गरेका छन् । नियमित रुपमा धारो आउने गरेकामा एक महिनादेखि पानीको अभाव भएपछि माथिका बासिन्दाले तल आउने पानी रोकिदिएका थिए ।

यसबाट पानीको निकै समस्या परेको ताथलीका बासिन्दा बताउँछन् । भक्तपुर नगरपालिका च्यामासिंहका बासिन्दा पानी लिन कमलविनायक पुग्ने गरेका छन् । “एक ग्रागी पानी लिन बिहान बित्ने गरेको छ”, च्यामासिंहका प्रतिभा बालाले भने,“पानी खोज्दै हिँड्नुपर्ने बाध्यता भयो ।”

जिल्लाका छ वटै नगरपालिकाका सहरी क्षेत्रमा मात्रै नभई गाउँ गाउँमा समेत पानीको हाहाकार भएको छ । आकाशबाट पानी नपरेपछि पानीका प्राकृतिक स्रोत सुकेका छन् । नियमित रुपमा पानी आउने कुलो, नहर र ढुङ्गेधारासमेत सुकेको छ ।

विगत वर्षमा सहरी क्षेत्रमा पानीको सङ्कट पर्ने गरे पनि यस वर्ष भने गाउँ गाउँमा समेत पानीको मुहान सुकेको छ । सूर्यविनायक नगरपालिका सिपाडोलका अनुप कासुलाले आफ्नो गाउँमा यस वर्षदेखि कुवा र इनारमा पानी सुकेर समस्या परेको बताए ।

पानीको हाहाकार भएपछि पानीको व्यापारीले पानीको मूल्यसमेत वृद्धि गरेका छन् । पानीमा मनोमानी रुपमा मूल्यवृद्धि भएको उपभोक्ता र व्यापारी बताउँछन् ।

मध्यपुरथिमि शङ्खधरचोकका व्यापारी रुकेश श्रेष्ठले पानी व्यापारीले पानी प्रतिजार रु ७० र बोतलको पानी रु २० लिन थालेको बताए ।

पानीको अभाव भयो भन्दै पानी व्यवसायीले समेत पानीको मूल्य बढाएका हुन् । एक ट्यांकर पानी रु एक हजार ५०० देखि रु दुई हजार सम्ममा बिक्री हुँदै आएकामा अहिले रु एक हजार ५०० मूल्यवृद्धि गरी रु तीन हजार ५०० सम्म लिन थालेका छन् । यस वर्ष पानी पर्न ढिलाइ भएका कारणले पनि पानीको अभाव बढेको हो । रासस