Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


पहिचान खुल्ने गरी नागरिकता पाएपछि समलिङ्गी उत्साहित


0
Shares

रुपन्देही, वैशाख २० । आफूहरुको पहिचान खुल्ने गरी नागरिकता पाएपछि तेस्रो तथा समलिङ्गी अहिले उत्साहित बनेका छन् ।

वर्षौंदेखि आफूहरुले पहिचान खुल्ने गरी नागरिकता पाउनुपर्ने माग गर्दै आएका तेस्रो तथा समलिङ्गीले संविधान जारी भएपछि नागरिकता लिन सजिलो भएको अनुभव गरेका छन् । उनीहरुले नयाँ संविधान लागू भएपछि आफूहरुलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सहज भएको बताएका छन् ।

रुपन्देहीबाट एक जनाले नागरिकता र एक जनाले पासपोर्ट उक्त समूहबाट लिएका छन् । अन्य आठ जनाले लिने तयारी गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका बस्ने यमबहादुर राना (आनिक)ले वैशाख ५ गते नागरिकतामा महिला या पुरुष लेख्नुपर्ने स्थानमा (अन्य) लेखेर प्राप्त गरेका छन् ।

यस्तै बुटवल उपमहानगरपालिकाका सन्तु पुनमगरले पनि पासपोर्टमा (ओ) लेखेर प्राप्त गरे । उनीहरुको क्षेत्रमा लामो सयमदेखि काम गरिरहेको संस्था ब्ल्यु डाइमन सोसाइटी रुपन्देहीका संयोजक मनिक न्यौपानेले दुई जनाले पाएपछि अन्य आठ जनाले नागरिकता लिने तयारी गरेको बताए ।

उनले भने, ‘नागरिकता नियमावली ६९ सालमा बने पनि संविधान जारी भएपछि प्रशासन कार्यालय रुपन्देहीले सहजरुपमा साथीलाई नागरिकता प्रदान गरेको छ, जसबाट हामीहरु निकै उत्साही बनेका छौँ ।’

रुपन्देहीमा करिब चार हजार तेस्रोलिङ्गी तथा समलिङ्गी रहेको ब्ल्यु डाइमन सोसाइटीको अनुमान छ । तेस्रोलिङ्गीले नागरिकता लिँदा गाविस वा नगरपालिकाबाट आफूहरु महिला, पुरुष नभई तेस्रोलिङ्गी भएको सिफारिस ल्याएमा जिल्ला प्रशासन कार्यालय कार्यालयबाट नागरिकता लिन सकिने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पछिल्लो नागरिकता ऐनअनुसार प्रकिया पु¥याएर आउने जुनसुकै लिङ्गको नागरिक भए पनि आफूहरुले नागरिकता प्रदान गर्ने बताए ।

सर्वोच्च अदालतले तेस्रो लिङ्ग तथा समलिङ्गीलाई पनि नागरिकताबाट वञ्चित गर्न नहुने आदेश सरकारलाई दिएपछि नागरिकता ऐन २०६४ केन्द्रित गर्दै नागरिकता नियमावली २०६९ लागू भएको हो । हाल जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयले परिपत्र जारी गरेको छ ।

ब्ल्यु डाइमन सोसाइटीका अनुसार कास्कीबाट पाँच जना र बागलुङ एक जनाले नागरिकता लिएका छन् । (रासस)