२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सगरमाथा आरोहण सुरु, ८ आरोही चुचुरोमा


0
Shares

काठमाडौं, वैशाख ३१ । वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण सुरु भएको छ ।

८ शेर्पा आरोहीले मंगलबार अपराह्न १ः४५ बजे सगरमाथाको चुचुरो (८,८४८ मिटर) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो ।

गत वर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण सुरु भएको थियो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मंगलबारदेखि आरोहण सुरु भएको जानकारी दिए ।

संखुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम (रोप फिक्सिङ) गरेको थियो ।

उक्त समूहमा सोलुखुम्बुका पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावानोर्बु शेर्पा तथा संखुवासभाका क्रमशः मिङदोर्जी शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा छन् ।

उनीहरु ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सिपिडिसन प्रालि र मेडिसन माउन्टेनरिङ एभरेस्ट एक्सिपिडिसन–२०१९’ बाट गएको सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एसोसिएसनले गर्दै आएको छ ।

सगरमाथाको शिविर–२ सम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले पाएको थियो ।

विभागकाअनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र ६ नेपाली आरोही समूह छन् ।

विभागकाअनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यस याममा कुल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् ।

यस याममा हिमाल आरोहणबाट करिब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४३ करोड ८९ लाख २७ हजार सगरमाथाबाटमात्र छ । रासस