३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


साढे ६ प्रतिशतमा मूल्यवृद्धि सीमित पार्न चुनौती : राष्ट्र बैंक


0
Shares

काठमाडौं, जेठ २९ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ मा साढे ६ प्रतिशत मूल्यवृद्धि कायम राख्न चुनौतीपूर्ण हुने जनाएको छ ।

आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न केन्द्रीय बैंकले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मूल्यवृद्धि केही माथि जानसक्ने संकेत गरेको हो ।

आगामी बजेटले आर्थिक वृद्धिदर ८ प्रतिशत र मूल्यवृद्धि दर साढे ६ प्रतिशत हुने अनुमान गरेको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी वर्ष साढे ६ प्रतिशतको मूल्यवृद्धि कायम राख्नु चुनौतीपूर्ण रहने बताए ।

संघ, प्रदेश र स्थानीय सरकारले गर्ने खर्चका कारण पनि मूल्यवृद्धिमा दबाबपार्ने उनको भनाइ छ ।

उनले आर्थिक वृद्धिलाई सघाउ पुर्‍याउने गरी मौद्रिक नीति तयार पार्ने बताए । सरकारले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

निजी क्षेत्रले विस्तारवादी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बजेटले ठूलो लगानीको स्रोत खोजिरहेको भन्दै सोहीअनुुसार मौद्रिक नीति आउनुपर्ने बताए ।

मूल्यवृद्धिमा दबाब परे पनि आर्थिक वृद्धिलाई सघाउने गरी विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने उनको सुझाव छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटले करका दर बढाउँदा दैनिक उपभोग्य वस्तु तथा सेवासमेत महँगो भएकाले मूल्यवृद्धि अझै बढ्नसक्ने बताए ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले बजेटअनुसार विस्तारकारी मौद्रिक नीति ल्याउन आग्रह गर्दै बढ्दो ब्याजदरबारे भने चिन्ता व्यक्त गरे ।