
काठमाडौं, वैशाख २० । नेपाली कांग्रेसभित्र सरकार परिवर्तनको विषयले चर्चा पाएको छ ।
संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
कतिपय सांसदहरुले वर्तमान सरकारलाई बजेट ल्याउन दिनबाटसमेत रोक्नुपर्ने बताएका छन् ।
वर्तमान सरकारले सस्तो लोकप्रियताका लागि महत्वाकांक्षी बजेट ल्याउनसक्ने भन्दै सांसदहरुले बजेटअघि नै सरकार परिवर्तन गर्नुपर्ने बताए ।
कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन र पुनःनिर्माणको काममासमेत वर्तमान सरकार असफल भएको बताए ।
कांग्रेस सांसद विमलेन्द्र निधिले अहिलेको सरकारलाई निरन्तरता दिँदा मुलुक झन् समस्यामा पर्नसक्ने भन्दै त्यसमा ध्यान दिन सांसदहरुले नेतृत्वलाई सुझाव दिएको बताए ।
कांग्रेसले भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान नदिएको, संविधान कार्यान्वयनमा सरकार असफल भएको, मधेसका मुद्दा समाधान गर्न नसकेकोलगायतका आरोप लगाएको छ ।
सांसद निधिले सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेको, ग्यासलगायत इन्धनको सहज व्यवस्था गर्न नसकेको भन्दै वर्तमान सरकारको विकल्प खोज्न नेतृत्वलाई सुझाव दिइएको बताए ।
बैठकले मंगलबारदेखि बस्ने संसदको बैठकमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्