
दीपेन्द्र अधिकारी (रासस)
नोम पेन्ह, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय संग्रहालय अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहेका छन् ।
यहाँको राष्ट्रिय संग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् । यो संग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो संकलनकारुपमा रहेको बताइएको छ ।
यहाँ एंकोरबाटनजिकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन् गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ ।
यहाँका मूर्तिमा पाँचौंदेखि आठौं शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा संक्रमण देख्न सकिन्छ । यहाँ छैटौं शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ ।
यहाँ एंकोरबाटमा प्राप्त शिवका नवौंदेखि तेह्रौं शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौधौं शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् ।
यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ । जसलाई गिनिज बुक अफ वर्ल्डस रेकर्ड्स प्रमाणपत्र दिइएको छ ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पनि थिए ।
प्रतिक्रिया दिनुहोस्