
काठमाडौं, वैशाख २० । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका साझा यातायातका अध्यक्ष तथा हिमाल पत्रिकाका प्रकाशक कनकमणि दीक्षित रिहा भएका छन् ।
सर्वोच्च अदालतको सोमबारको आदेशले दीक्षित रिहा भएका हुन् । उनलाई हिरासतमा राख्नुपर्ने कुनै आधार नभएको भन्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलाशले उनलाई हिरासतमा राख्ने कुनै आधार नभएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
अकुत सम्पत्ति आर्र्जन गरेको अभियोगमा अख्तियारले हिरासतमा राखेका दीक्षितलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी शान्ता दीक्षितले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ भएको थियो ।
सुनुवाइकाक्रममा अदालतले दीक्षितले भ्रष्टाचार गरेको भनिएको विषयमा अनुसन्धान गर्नुपरेमा साधारण तारेखमा राखेर अनुसन्धान गर्न अख्तियारलाई आदेश दिएको छ ।
वरिष्ठ पत्रकार दीक्षितलाई यही वैशाख १० गते अख्तियारले नियन्त्रणमा लिएको थियो । विशेष अदालतले १० दिन थुनामा राख्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्