
चितवन, वैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमजीवि पत्रकारको पारिश्रमिक र सुविधाप्रति सरकार र सन्चारगृह सकारात्मक हुनुपर्ने बताएकी छन् ।
चितवनको रत्ननगरमा मंगलबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारहरुले देशको सार्वभौमिकता र अखन्डा जोगाउँदै देश विकासका लागि कलम चलाउनुपर्ने बताइन् ।
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देश विकासका लागि आर्थिक क्रान्तिको आवश्यकता रहेकाले त्यसमा सन्चारजगत्ले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले साधारणसभामा पत्रकारको वर्तमान अवस्था र भविष्यका विषयमा गहन छलफल गरिने बताए ।
उनले आमसन्चार प्रतिष्ठानलाई सबैको स्वामित्व हुने गरी अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।
साधारणसभाको उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको छ ।
यस्तै, नेपाल पत्रकार महासंघ चितवन शाखालाई देशभरको शाखामध्ये उत्कृष्ट शाखाको पुरस्कार प्रदान गरिएको छ ।
साधारणसभामा मुलुकभरका १ हजार ६ सय ५१ पत्रकार सहभागी छन् । साधारणसभामा विधानसभा पनि हुने भएकाले महासंघलाई संघीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी संगठनको पुनः संरचनासहितको विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी छ ।
श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथिसमेत साधारणसभामा छलफल गरिने कार्यक्रम छ ।
नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको संगठन संरचना प्रस्ताव गरिनेछ ।
भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासंघले १० ओटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । जसमा ७ ओटा प्रदेश, उपत्यका १, एसोसिएट १ र प्रतिष्ठान १ गरी १० पुर्याउँदै छ ।
हाल महासंघका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको संख्या १० हजारभन्दा माथि छ । साधारणसभा बुधबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्