२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


कावासोतीका महिलाहरु सामूहिक बेसार खेतीमा


0
Shares

विवेक भण्डारी

नवलपुर, वैशाख ३१ । आफूसँग भएको सीप र श्रमको सदुपयोग गर्न सके जो कोही पनि आत्मनिर्भर हुन सक्छन् । नवलपुर कावासोतीका महिला समूह गठन गरी सामूहिक बेसार खेतीमा लागेका छन् । घरधन्दामा मात्र सीमित बनेका महिलाको यो सामूहिक प्रयत्नले उनीहरुको ज्ञान सीपमात्र बढाएको छैन, आत्मनिर्भर समेत बनाएको छ ।

घरायसी काम र चुलोचौकोमा मात्र सीमित बनेका नवलपुर कावासोती १० का महिलाहरु व्यावसायिक बेसार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । दिनभर घरमा त्यत्तिकै बस्नुपर्दा पट्यारलाग्दो बनेको उनीहरुको दैनिकी थप सक्रिय बनेको छ । २०७४ सालमा द अर्गानिक भ्याली भन्ने संस्थाको सहयोगमा सामुदायिक वनभित्रै व्यावसायिक बेसारखेतीमा लागेका उनीहरुको सफलताले अरुहरुलाई पनि लोभ्यायो र थप चार समूह आबद्ध भई यसलाई अझै विस्तार गरेका छन् ।

चार कठ्ठा जमिनमा सुरु गरेका उनीहरुले अहिले १२ कठ्ठामा खेती गरेका छन् । यसबाट आफूहरुमा उत्साह थपिएको र आत्मनिर्भर बन्न सघाउ पु¥याएको उनीहरुको भनाइ छ ।

ज्यादा रासायनिक पदार्थ र विषादीको प्रयोगले खेलवाड गरेको उपभोक्ता स्वास्थ्यप्रति संवेदनशील बन्दै उनीहरुले अर्ग्यानिक रुपमा उत्पादन गरेका छन् । उत्पादनले जिल्लाबाहिर काठमाडौँ पोखरा, हेटौँडालगायतका ठाउँमा पनि राम्रो बजार पाउने गरेको छ ।

दिनभरी फुर्सदिला हुने महिलाहरुलाई एकीकृत गराई आत्मनिर्भरतातर्फ उन्मुख बनाएकाले यो प्रभावकारी भएको द अर्ग्यानिक भ्यालीका फिल्ड सुपरभाईजर सुरेन्द्र पौडेल बताउँछन् ।

स्वरोजगार र आत्मनिर्भर बनाउने किसिमका यस्ता कार्यक्रमप्रति सरकारले पनि प्रोत्साहित गर्नुपर्छ ।