
काठमाडौं, वैशाख २१ । चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर ०.७७ प्रतिशतमा सीमित हुने सरकारको औपचारिक तथ्यांक सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा यो वर्ष कुल गार्हस्थ्य उत्पादन बृद्धिदर १ प्रतिशतभन्दा कम हुने प्रक्षेपण गरेको हो ।
सरकारले आर्थिक बृद्धिदर २ प्रतिशत बराबर रहने बताएपनि दातृ राष्ट्रहरु एडीबी, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतले २ प्रतिशतभन्दा तल झर्ने प्रक्षेपण गरिसकेका छन् ।
भूकम्प, नाकाबन्दीलगायतका कारण बृद्धिदर नकारात्मक भइ जानसक्नेसमेत आंकलन गरिएको थियो ।
तर, शून्य दशमलव सात सात प्रतिशत भने हुने प्रक्षेपण तथ्यांक विभागले गरेको छ । यो विगत १३ वर्षयताकै न्यून बृद्धि हो ।
यसअघि सन् २००१ मा आर्थिक बृद्धि सबैभन्दा कम शून्य दशमलव एक छ रहेको थियो ।
चालु आर्थिक वर्ष २०७२/७३ को चारदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा विभागले यो प्रक्षेपण गरेको हो ।
गत आर्थिक वर्ष यस्तो बृद्धिदर २०७१/७२ मा २.३२ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७०/७१ मा ५.७२ प्रतिशत हुने अन्तिम अनुमान रहेको पनि विभागले जनाएको छ ।
कुल गार्हस्थ्य उत्पादनको अंशमा सबैभन्दा बढी योगदान सेवा क्षेत्रको ५४ प्रतिशत, कृषि, वन, मत्स्यलगायत प्राथमिक क्षेत्रको ३२ प्रतिशत र द्धितीयक क्षेत्रको १३ प्रतिशत रहने विभागले जनाएको छ ।
द्धितीयकअन्तर्गत् उद्योग क्षेत्रको योगदान गत वर्षभन्दा थप ९ प्रतिशतले घटेर ५ दशमलब पाँच तीन प्रतिशतमा खुम्चिने विभागको तथ्यांक छ ।
यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार ९ सय २१ रुपैयाँ पुगेको विभागले जनाएको छ । गत वर्ष ७७ हजार ८९ थियो । यसमा थोरै मात्र बृद्धि भएको हो ।
यस्तै, अमेरिकी डलरमा प्रतिव्यक्ति आय ७ सय ६६ अमेरिकी डलरमा झरेको छ । अघिल्लो वर्ष ७ सय ७५ डलर रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्