१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरकारको नेतृत्व गर्न अघि सर्‍यो एमाओवादी


0
Shares

काठमाडौं, वैशाख २२ । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ ।

दाहाल निवास लाजिम्पाटमा बुधबार बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहालको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, मधेसी दललगायत सबै दललाई एकीकृत माओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ ।

बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, र पुनर्निर्माणलगायतका विषयमा ठोस काम गर्न नसकेकाले दाहालको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले राष्ट्रिय स्वाधिनता, संविधानको कार्यान्वयन, पुनर्निर्माणलगायतका विषयमा केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको ठहर गरेको छ । उपाध्यक्ष श्रेष्ठले नेपाली कांग्रेसले एकीकृत माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको जानकारी दिँदै यसमा अन्य दलहरुलाई पनि आग्रह गरिएको बताए ।

बैठकपछि अध्यक्ष दाहालले विज्ञप्ति जारी गरी सबै दललाई आफ्नो नेतृत्वमा गठन गरिने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अपील गरेका छन् ।