Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सांसदहरुबीच बैठकमै भनाभन


0
Shares

काठमाडौं, वैशाख २२ । भारत र चीनको सहयोगका विषयलाई लिएर सांसदहरूबीच भनाभन भएको छ ।

व्यवस्थापिका–संसदअन्तर्गत्को राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले पेश गरेको चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेट, वार्षिक नीति र कार्यक्रमको विषयलाई लिएर सांसदहरुबीच भनाभन भएको हो ।

एमाले सांसद गंगालाल तुलाधरले भारत सरकारको सहयोगमा पनौतीमा निर्माण हुने ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’को भवन निर्माणको परामर्शदाताको छनोटकार्य भएको, तर भारत सरकारले मान्यता प्रदान नगरेका कारण काम अगाडि बढ्न नसकेको भन्दै भारतले हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतसँगको खुला सीमानाकाबाट कयौं किल्ला गायब भएको भन्दै भारतीय सीमामा सीसीटीभी राख्न सुझाव दिए ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले अन्य सांसदले भारतविरूद्ध बोलेको कुरालाई इंगित गर्दै ठूलो छिमेकीलाई आरोप लगाउन नहुने भन्दै भारतको बचाऊ गरेका थिए ।

गृहमन्त्री बस्नेतले सांसदहरूको कुरा सुनेपछि प्रतिष्ठान निर्माणको समझदारीपत्रमै समस्या भएको र त्यसलाई परिवर्तन गर्नुपर्ने देखिएको बताए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सांसद वृजेषकुमार गुप्ताले भने नेपालमा नागरिकसँग नागरिकता, मतदातापत्र भएपछि पनि फेरि राष्ट्रिय परिचयपत्र ल्याउनुको पछि दाताहरूको इच्छा रहेको बताए ।