३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


भूकम्पले चेत खोलिदियो बारपाकीको, यसरी फेरिँदै छ बारपाकको मुहार (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
गोरखा, वैशाख २२ । २०७२ साल वैशाख १२ गतेअघिसम्म गुमनाम जस्तै बनेको गोरखाको बारपाक अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा छ ।

यही ठाउँ आसपासलाई केन्द्रबिन्दू बनाएर गत वर्ष भूकम्प गएपछि यहाँका १४ सयभन्दा बढी घर ध्वस्त भए भने ७२ जनाको ज्यान गयो ।

अधिकांश घले र गुरुङ समुदायको बस्ती रहेको बारपाकमा भूकम्पले जनधनको क्षति पुर्‍याएसँगै यहाँका जनतामा अहिले सुरक्षित आवास निर्माण गर्नुपर्दछ भन्ने जागरण पनि ल्याइदिएको छ ।

कुनैबेला दक्षिण एसियाकै सुन्दर सामूहिक बस्तीमध्येमा पर्ने गोरखाको बारपाक गत वर्ष वैशाख १२ को भूकम्पलगत्तै कुरुप बन्यो ।

बारपाकका कुल १ हजार ४ सय ४७ घरमध्ये अधिकांश घर पुराना र मौलिक खालका थिए ।

गुरुङ र घलेहरुको एकता झल्कने गरी गुजुमुज्ज परेर बसेको बस्तीको देश–विदेशमा बेग्लै पहिचान थियो । तर, गत वर्षको भूकम्पले यहाँका ९९ प्रतिशत घर पूर्णरुपमा ध्वस्त भए ।

भूकम्प गएको एक वर्षपछि बारपाक पुग्दा बारपाकीहरु आफ्नो मौलिक पहिचानलाई जोगाउनेभन्दा पनि कसरी सुरक्षित घर निर्माण गर्न सकिन्न भन्नेतर्फ सचेत देखिन्थे । त्यसैले उनीहरु आफ्नै बलबुतामा सकेसम्म पक्की आवास बनाउन व्यस्त थिए ।

विगतबाट पाठ सिक्दै वर्तमानमा आफू र भविष्यमा आफ्नो भावी पुस्तालाई सुरक्षित राख्नका लागि बारपाकीहरुले घर निर्माणमा आफूसँग भएको साधन–स्रोतको उच्चतम् प्रयोग गरिरहेका छन् ।

कतिपयले देश–विदेशमा रहेका आफन्तसँग हारगुहार गरेर केही बढी रकम खर्च गरेरै भएपनि पक्की घर निर्माण गरिरहेका छन् भने धेरै खर्च गर्न नसक्नेहरु सकेसम्म सुरक्षित गर बनाउने प्रयासमा छन् ।

वैशाख १२ को भूकम्पले बारपाकीकोहरुको चेत रामैसँगै खोलिदिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।