२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


नेपाल फिफा वरीयतामा १ स्थान झर्‍यो, अर्जेन्टिना शीर्षमा कायमै


0
Shares

काठमाडौं, वैशाख २३ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले जारी गरेको नयाँ वरीयताक्रममा नेपाली राष्ट्रिय फुटबल टोली १ स्थान तल झरेको छ ।

यसअघि, वरीयताक्रममा १ सय ७९औं स्थानमा रहेको नेपाल १ स्थान तल झर्दै १ सय ८०औं स्थानमा पुगेको हो ।

दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल पाँचौ स्थानमा रहँदा अफगानिस्तान १ सय ४७औं स्थानमा यथावत रहँदै दक्षिण एशियाको शीर्ष स्थानमा कायमै छ ।

दक्षिण एसियामा माल्दिभ्स दोस्रो, भारत तेस्रो, बंगलादेश चौंथो, भुटान छैटौं, श्रीलंका सातौं र पाकिस्तान अन्तिम स्थानमा छन ।

फिफाले मे महिनाका लागि विहीबार जारी गरेको नयाँ वरीयताक्रममा अर्जेन्टिनाले आफूलाई विश्व फुटबलको नम्बर एक राष्ट्रकारुपमा कायमै राख्दा बेल्जियम दोस्रो, चिली तेस्रो, कोलम्बिया चौंथो र जर्मनी पाँचौं स्थानमा कायमै छन् ।

अघिल्लो वर्ष बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनलअन्तर्गत् माल्दिभ्सवबरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली राष्ट्रिय टोलीले त्यसयता फिफाद्वारा मान्यता प्राप्त कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

फिफाले राष्ट्रिय टोलीहरुबीच हुने खेललाईमात्र अन्तर्राष्ट्रिय मान्यता दिने गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता नपाएका खेलका नतिजाले फिफाको वरीयतालाई प्रभावित गर्दैन ।