३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो (भिडियो)


0
Shares

सुर्खेत, वैशाख २४ । अधिकांश सामुदायिक विद्यालय विद्यार्थी नहुँदा समस्यामा परेका छन् । विद्यार्थीभन्दा शिक्षक धेरै, विद्यार्थी नभएर विद्यालय गाभियोजस्ता खबर सार्वजनिक भइरहेका बेला सुर्खेतमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थीको आकर्षण बढेको छ ।

वीरेन्द्रनगरका अमर ज्योति नमुना उच्च माध्यामिक विद्यालय, श्रीकृष्ण संस्कृत उच्च माध्यामिक बिद्यालय, जन उच्च माध्यामिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालयबाट यहाँ आउने विद्यार्थीको लर्को नै लागेको छ । यतिसम्मकी विद्यालयले सबै विद्यार्थीलाई भर्ना गर्नसमेत सकेका छैनन् ।

विद्यार्थी थेग्नै गाह्रो भएको र गुणस्तरीय शिक्षा दिनसके सामुदायिक विद्यालयमा विद्यार्थी, अभिभावकको मोह नघट्ने अमर ज्योति नमुना उच्च माध्यमिक विद्यालयका प्रधान अध्यापक डिल्लीप्रसाद उपाध्याय बताउँछन् ।

उच्च माध्यामिक विद्यालय इत्रामको रेकर्डअनुसार चार शैक्षिक सत्रमा निजी विद्यालय छोडेर आउने विद्यार्थीको संख्या चार सय ५७ पुगेको छ । यीमध्ये केही विद्यार्थी उनीहरु अध्ययनरत विद्यालयका उत्कृष्ट हुन् ।

निजी विद्यालयमा ९० प्रतिशतभन्दा बढी अंक ल्याएका विद्यार्थीहरुले पनि बाँकी शैक्षिक यात्राको लागि सरकारी विद्यालय रोजेका छन् । निजी विद्यालय छोडेर आउने अधिकांश विद्यार्थीका अभिभावक सरकारी तथा गैरसरकारी क्षेत्रका जागिरे र समाजमा प्रतिष्ठित व्यक्ति रहेका छन् ।

विद्यालयले गरेको प्रगतिले विद्यार्थीहरु आकर्षित भएको प्राचार्य गेहेन्द्रप्रसाद दाहाल बताउँछन् । सरकारी विद्यालयमा विद्यार्थीको मोह बढ्न थालेपछि केहि नीजि विद्यालयहरुले विद्यार्थी बाहिर नजाओस् भनि बार्षिक परीक्षामा विद्यार्थीको क्षमताभन्दा बढी नम्बर दिने पनि गरेका छन् ।

यही समस्याले निजी बिद्यालयका उत्कृष्ट विद्यार्थी सामुदायिक विद्यालयको प्रवेश परीक्षामा फेल हुने गरेको अभिभावक कृष्ण प्रसाद लामिछाने बताउँछन् ।

केही सामुदायिक विद्यालयहरु अहिले निजी भन्दापनि राम्रा गरी अभिभावक र विद्यार्थीहरुलाई आकर्षित गरेका छन् । नियमित पठन–पाठन, समयमै कोर्ष पूूरा गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, समय–समयमा परीक्षा लिने, अंग्रेजी माध्यमबाट पढाई हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या बढेको जिल्ला शिक्षा अधिकारी दीपा हमाल बताउँछिन् ।

केही सामुदायिक विद्यालयले आफूलाई समृद्ध बनाएपछि अन्य बिद्यालयमा पनि पढाईको गुणस्तरमा बृद्धि भएको छ । यसको राम्रो पक्षलाई सवै सामुदायिक विद्यालयले सिको गरे गुणस्तरीय शिक्षाका लागि नीजि विद्यालय जाने परम्परा भत्किने थियो ।