
काठमाडौं, वैशाख २५ । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थतिग गर्ने सन्देशसँग भारतीय अधिकारीहरुले आश्चर्य व्यक्त गरेका छन् ।
परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन । ‘हामीले तयारी गरिसकेका थियौं, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने ।
राष्ट्रिपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो ।
‘सन्चोबिसन्चो सोधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरुलाई के भन्नेमा पनि समस्या थियो’, राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने ।
इच्छुक थिइन राष्ट्रपति
राष्ट्रपति विद्या भण्डारी अहिलेकै अवस्थामा भारत भ्रमण गर्न इच्छुक थिइन । बुधबार अपरान्ह शीतलनिवासमा कूटनीतिक पत्रकारसँगको अनौपचारिक अन्तरक्रियामा राष्ट्रपति भण्डारीले भारत जाने बताएकी थिइन । परिस्थिति सहज नभए पनि आफ्नो भ्रमणले दुई देशवीचको असमझदारी हटाउने भण्डारीको विश्वास थियो ।
यस्तो थियो तयारी
सरकारले औपचारिक निर्णय नगरे भ्रमणको तयारी अन्तिम चरणमा पुगेको थियो । प्रतिनिधिमण्डल करिब १२ जना हुने र सवारीमन्त्रीका रुपमा संस्कृती तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखर्ल जाने समेत मोटामोटी तय भएको थियो ।
भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा सिहस्थ कुम्भ मेलामा जाने राष्ट्रपतिको तयारी थियो । उज्जैनमा भण्डारीको स्वागतका लागि तयारी थालेको थियो । नयाँदिल्लीस्थित नेपाली दुताबासमा २७ बैशाख साँझ राष्ट्रपतिको सम्मानमा रात्रिभोज तय भएको थियो । –नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्