
जनकपुर, वैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले राजा जनकको भूमिमा कृषि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखको कुरा भएको बताएकी छन् ।
माता सीताको जन्मदिनको अवसर पारेर मिथिलाञ्चलमा सोमबार आयोजित जानकी महोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले राजा जनकले यस भूमिमा कृषि पर्व महायज्ञ गरि कृषिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताइन् । तराईको कृषि क्षेत्रमा दिन प्रतिदिन उत्पादन र उत्पादकत्वमा आइरहेको कमीप्रति उनले दुःख व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरणमैत्री सन्तुलित दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी भूमिको प्रचुर उपयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय गौरवको रुपमा रहेकी सीताको जन्म दिन संघीय सरकारलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन पटक पटक आग्रह गर्दा पनि चासो नलिएपछि आफुहरुले प्रादेशिक पर्वकै रुपमा मनाएको बताए ।
रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो जोत्दा सीताको जन्म भएको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ ।
सोमबार बिहान हेलिकप्टरबाट जनकपुर पुगेकी राष्ट्रपति भण्डारी एयरपोर्टबाट सिधैँ जानकी मन्दिरमा गएर पूजा तथा दर्शन गरेकी थिइन् । उनी जानकी मन्दिरमा आयोजना गरिएको विशेष महोत्सव कार्यक्रममा समेत सहभागी भइन् ।
सीताको जन्मदेखि न्वारनसम्म गरिएका सांस्कृतिक परम्परालाई स्मरण गर्दै मनाइने जानकी महोत्सव पछिल्लो दुई वर्षदेखि भव्यतापूर्वक मनाउन थालिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवको भनाइ छ । महामहोत्सवको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्