१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


नेपाली सेनाको विरासत जोगाउँदै आएको ‘रिसल्ला’ के गर्दैछ अहिले ?


0
Shares

काठमाडौं, वैशाख ३० । ‘रिसल्ला’ अर्थात अश्वसेना । कुनै समय ‘रिसल्ला’ सेना संलग्न युद्धको अग्रमोर्चामा रहन्थे । समय बदलियो, केही समय अघि यसलाई तत्कालीन राजा-महाराजाले आफ्ना औपचारिक समारोहको शोभा बढाउन प्रयोग गर्ने थाले । अहिले मुुलुकका विशिष्ट व्यक्ति कुनै विशेष कार्यक्रममा सरिक हुँदा स्वागतका लागि अघिपछि रिसल्ला प्रयोग गरिन्छ । विस्तारै रिसल्लाको दायरा साघुरिँदै गएको छ ।

घोडचढी सैनिक अर्थात रिसल्ला कुनै समय युद्धका लागि प्रख्यात थिए । युद्धका लागि सजिलो र भपरर्दो हुँदा रिसल्ला सेनाको महत्वपूर्ण अंग नै थियो । नेपाली सेनामा पनि घोडचढीसम्बन्धी इतिहास निकै पुरानो छ । तत्कालीन राजा सुरेन्द्रविक्रम शाह तथा प्रधानमन्त्री जंगबहादुर राणाका पालामा रिसल्ला नामबाट १९०६ सालमा घोडचढी सैनिक दल स्थापना गरिएको थियो । चाँगुनारायणस्थित अभिलेखमा नेपालमा पाँचौं शताब्दीदेखि नै घोडचढी सैनिक भएको उल्लेख छ । १६औं शताब्दीमा पाल्पाली राजा मुकुन्द सेनले काठमाडौं उपत्यका आक्रमण गर्दा पनि घोडचढी सैनिक प्रयोग गरेका थिए । 

सन् १८५७ मा भएको भारतीय स्वतन्त्रता संग्राम दबाउन नेपाली रिसल्ला प्रयोग भएको यियो । त्यसैगरी विसं १९११–१२ मा भएको नेपाल–तिब्बत युद्धका बेला पनि रिसल्ला अग्रमोर्चामा खटेका थिए । यस्तो गौरवमय इतिहास बोकेको रिसल्लाको दायरा भने अहिले निकै साँघुरिएको छ ।

राजतन्त्रकालमा राजाहरुको औपचारिक समारोहमा शोभाका लागि रिसल्लाको प्रयोग हुन्थ्यो । यसले पनि रिसल्लाको ऐतिहासिकता पुष्टि गर्छ । अहिले भने राष्ट्रपतिको केही औपचारिक समारोह, सेनाको विशेष कार्यक्रम र विदेशी राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपतिलाई पेश गर्दा मात्र रिसल्लाको प्रयोग हुने गरेको छ ।

विशेष समारोहमा प्रयोग गरिने रिसल्लाको किसिम पनि भिन्नाभिन्नै हुन्छ । बग्गीका रुपमा लगिने रिसल्लामा सेतो र कालो घोडा प्रयोग गरिन्छ । समारोहमा जानुअघि घोडालाई लगाइदिने युनिफर्म ‘स्याडल’ लगाइ सिँगारिने गरिन्छ भने रिसल्लाले पनि विशेष प्रकारको कपडा लगाउने गर्छन । तर पछिल्ला दिनमा भने यसको उपयोगिता र दायरा घट्दै जाँदा रिसल्लाको संख्यामा निकै कमी आएकोे नेपाली सेनाका प्रा. उपसेनानी काजीविक्रम पण्डितले बताए ।

२००९ सालमा नेपाली सेनाको पुनर्गठनपछि यसलाई ‘किंग्स हाउस होल्ड क्याभलरी’ नामकरण गरिएको थियो । नेपाल गणतन्त्रमा प्रवेश गरेसँगै २०६५ जेठ २३ देखि यसको नाम ’नेपाल क्याभलरी’मा परिणत भयो । रिसल्लाको परम्परागत उपयोगको संभावना सकिए पनि यसले नेपाली सेनाको इतिहासको विरासतलाई भने धानिरहेको छ ।