
कञ्चनपुर, बैशाख २५ । सर्वोच्च अदालतको आदेश विपरित महाकाली अञ्चल अस्पतालको हाताभित्र साझा औषधी पसल सञ्चालन गरिएको छ ।
सर्वोच्चको आदेश बमोजिम सबै अस्पताल हाताबाट निजी औषधि पसल हटाएर अस्पताल आफैले सञ्चालन गर्न गत असार २९ गतेनै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागलाई परिपत्र गरिएको थियो ।
तर उक्त आदेश विपरित हालसम्म पनि महाकाली अञ्चल अस्पतालमा संस्थागत रुपमा साझा औषधी पसल संचालन भइरहेको छ ।
सर्वोच्च अदालतले सबै अस्पतालले फार्मेसी सेवा दिनुपर्ने र सरकारबाट घोषित निःशुल्क औषधि अस्पतालबाटै वितरणको व्यवस्था गर्न आदेश दिएको थियो ।
बाहिरी व्यक्तिलाई अस्पताल हाताभित्र भाडा वा ठेक्कामा औषधि पसल सञ्चालन गर्न नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसहित स्वास्थ्य मन्त्रालयका नाममा आदेश जारी गरिएको थियो ।
यसैबमोजिम स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालमा परिपत्र गरे पनि फार्मेसी सञ्चालन गर्न मन्त्रालयले दरबन्दी नदिएकाले साझा औषधि पसल हटाउन नसकिएको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष खेमलाल शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्