Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


‘मानव अधिकार रहे मात्र लोकतन्त्र र गणतन्त्रको रक्षा हुन्छ’


0
Shares

काठमाडौं, बैशाख २५ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार रक्षाका लागि सजग हुन सबैसँग आग्रह गरेका छन् ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको आठौं राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै अध्यक्ष शर्माले मानव अधिकारको रक्षाबाट मात्र लोकतन्त्र र गणतन्त्रको रक्षा हुने बताए ।

उनले मानव अधिकारको सबैका लागि उत्तिकै महत्वको हुने भन्दै कुनै दल, व्यक्ति, समुदाय र क्षेत्र  विशेषको रुपमा नबुझ्न पनि आग्रह गरे ।

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मानवअधिकारवादी निष्पक्ष हुन नसकेको भन्दै दल विशेषको मानवअधिकारले कसैको हित नहुने बताए ।

पछिल्लो समयमा मानव अधिकारका घटनामा उल्लेख्य बृद्धि भएको भन्दै उनले आफू निकटका व्यक्ति र दलको पक्षमा मानवअधिकारवादी भएको आरोप बताए ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला र एमाले सचिव योगेश भट्टराईले मानव अधिकारको रक्षाका लागि आफ्नो पार्टीको प्रतिबद्धता जनाए ।

पछिल्लो समयमा मानवअधिकारलाई पार्टीगत रुपमा व्याख्या गरको भन्दै पार्टीगत नभई निष्पक्ष भएर काम गर्न उनीहरुले आग्रह गरे ।

कार्यक्रममा यस बर्षको शान्ति र मानव अधिकार राष्ट्रिय सम्मान २०७३ बाट मानवअधिकारकर्मी आनन्दप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।