१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


सिन्धुलीको ऐतिहासिक पौवागढी र टुँडिखेल ओझेलमा


0
Shares

सिन्धुली, वैशाख ३० । सिन्धुलीको ऐतिहासिक पौवागढी र टुँडिखेल ओझेलमा परेका छन् ।

सिन्धुलीगढीको पौवागढी र वीर गोर्खाली सेनाहरुले कवाज र परेड खेल्न निर्माण गरिएको ऐतिहासिक टुँडिखेलको संरक्षण हुन नसक्दा ओझेलमा परेका हुन् । सिन्धुलीगढी विजयकिल्लाको मध्यभागमा रहेको गोर्खाली फौजले नेपाली घरेलु हतियार खुर्पा, खुकुरी, घुयत्रो हान्ने स्थल ऐतिहासिक टुँडिखेल र लुकेर युद्ध लड्ने स्थान पौवागढी संरक्षणको अभावमा दिनदिनै ओझेलमा पर्दै जान थालेका छन् ।

नेपाल एकिकरण अभियानका क्रममा घरेलु हतियारको भरमा गोरखाली फौजले सिन्धुलीगढीमा अंग्रेजहरुलाई परास्त गरेको थियो । सिन्धुलीगढीमा वनभोज खान आउने आन्तरिक पर्यटकहरुले जथाभावी फोहोर गर्ने गरेकाले टुँडिखेल र पौवागढी किल्ला दुर्गन्धित हुँदै जान थालेको छ ।

विसं. १८२४ को कार्तिकमा गोर्खालीले घरेलु हतियारले भोक भोकै अंग्रेजहरुसँग युद्व गर्दा रगतले भिजेको युद्वकिल्ला, युद्धमा प्रयोग गरिएका पर्खालहरु, घुयत्रो र गुलेली हान्न प्रयोग भएका मट्याङ्ग्राहरु र ढुङ्गाका थुप्राहरुका अवशेषहरु पौवागढी र टँुडिखेलमा आज पनि भेटिदैछन् ।