
प्रतीक लामिछाने-
गोरखा, वैशाख २६ । महाभूकम्पले ध्वस्त बनाएको गोरखाको बारपाक बिस्तारै पुरानै लयमा फर्कदैछ । होमस्टे, अनि गुरुङ्ग र घले जातिको संस्कृति बोकेको बारपाक पर्यटकहरुको स्वागतका लागि लगभग तयारी अवस्थामा पुगेको छ ।
एक हजार ४ सय ४७ घरधुरी रहेको बारपाक गाविस २०७२ वैशाख १२ अघि होमस्टेको लागि निकै प्रसिद्ध थियो । तर भूकम्पले गाउँ नै सखाप पारेपछि एक वर्षसम्म यहाँका बासिन्दा आफ्नो घर बनाउनमै ब्यस्त छन् । सँगै स्थानीय बासिन्दा स्वदेशी तथा विदेशी पर्यटकको स्वागत, सत्कारका लागि के गर्न सकिन्छ भनेर लागि परेका छन् । बारपाकमा यतिबेला व्यक्तिगत घरसँगै होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरु पनि धमाधम निर्माण भइरहेका छन् ।
त्यसो त, महाभूकम्प लगत्तै बारपाकमा पुग्ने सडकमार्ग अवरुद्ध थियो र सिंगो बारपाक अन्धकारमय बनेको थियो । अहिले बारपाकमा कच्चीमार्गबाट गाडीहरु चल्न थालेका छन् भने २०७३ साल वैशाख १२ गतेदेखि विद्युत् सेवा पनि सञ्चालनमा आएको छ ।
बौद्ध हिमालको काखैमा रहेको बारपाकका बासिन्दाहरु विस्तारै आफ्नो नियमित दिनचर्यामा फर्कदै छन् । स्वदेशी तथा विदेशी पर्यटकहरु विभिन्न बहानामा बारपाक पुग्नेक्रम पनि बढेको छ, यतिबेला ।
पीडाको वर्षदिन बारपाकबासीले जसोतसो विताए । आफ्नो संस्कृति र परम्परालाई देश विदेशमा पुर्याउनुपर्दछ भन्ने उनीहरुको सोचमा करिब एकवर्षसम्म भूकम्प बाधक बनिदियो । तर अहिले पुरानै लयमा फर्कदै छ बारपाक र बारपाकबासीहरु । पर्यटकको स्वागत र सत्कार गर्न अब आफूहरु तयारी अवस्थामा पुगेको बताउँछन् स्थानीय बासिन्दा ।
भूकम्पपछि बारपाकमा अस्थायी प्रकृतिका होटल तथा रिसोर्टहरु पनि नबनेका होइनन् र तर बारपाकको पहिचान होमस्टे अर्थात् घरबास नै हो । यहाँ पुग्ने पर्यटकहरुले आफ्नो इच्छा अनुसारको खानेकुरा आफ्नै हातले तयार पारेर खान पाउँछन् । त्यसैले भूकम्पले सिँगो गाउँ ध्वस्त बनाएको एक वर्ष पुग्दा नपुग्दै यहाँका एकदर्जन बढी घरहरु होमस्टेका लागि तयारी अवस्थामा पुगेको छ ।
सरकारले बारपाकमा भूकम्प स्मारक बनाउने योजना बनाईसकेको छ । त्यसैले आउँदा दिनमा घले, गुरुङ्ग संस्कृतिदेखि भूकम्पलगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थी र स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत बारपाक राम्रो गन्तब्य बन्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्