
जाजरकोट, वैशाख २७ । जाजरकोटमा विद्यालयमा नपढाएर जागिर खाने शिक्षकको संख्या ठूलो रहेको तथ्य सार्वजनिक भएको छ ।
जिल्लामा नयाँ शैक्षिकसत्रको सुरु हुनेबित्तिकै जिल्ला शिक्षा कार्यालयले विद्यालयको अनुगमन गर्दा ठूलो संख्यामा शिक्षकहरु विद्यालयमा उपस्थित नभएर जागिर खाने गरेको खुलासा भएको हो ।
१५० जनाभन्दा बढी शिक्षक विद्यालयमा नआएर जागिर खाने गरेको तथ्य पत्ता लागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।
नयाँ शैक्षिकसत्रको सुरुमै जाजरकोटका ४० प्रतिशत विद्यालयमा अनुगमन गर्दा ६९ जना शिक्षक विद्यालयमा नभेटिएको जिशिअ सिंहले बताए ।
विद्यालयमा नभेटिएका शिक्षकको हाजिर हेर्दा गयल समय अवधि एक दिनदेखि झन्डै ६ वर्षसम्मको रहेको छ ।
अनुगमन गर्न बाँकी ६० प्रतिशत रहेका विद्यालयमा झन्डै ९० जनाभन्दा बढी शिक्षक गयल अवस्थामा रहेको कार्यालयको दाबी छ ।
सात महिना १५ दिनसम्म गयल हुने शिक्षकमा प्रेमज्योति प्राथमिक विद्यालय मैनपाखा दहका शिक्षक मनवीर थापा रहेको जिशिकाले जानकारी दिएको छ ।
त्यसैगरी, झन्डै ६ वर्षसम्म गयल हुनेमा तपोभूमि माध्यमिक विद्यालय ध्यार गाउँ रग्दाका विज्ञान विषयका शिक्षक योगेन्द्रनाथ चौवे रहेका छन् । सबै गयल हुने शिक्षकको गणना गर्दा झन्डै १५० भन्दा बढी संख्या रहेको छ ।
विद्यालयमा अध्यापन नगराइ गयल भएका शिक्षकको तलब कटौती गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।
विद्यालयमा पाठ्यपुस्तक अभाव र विद्यार्थी अनुपस्थित भएको बहाना बनाएर शिक्षक गयल हुनु भनेको लज्जाजनक विषय भएको जिशिअ सिंहको भनाइ रहेको छ ।
विद्यालयमा वर्षौंदेखि अनुपस्थित शिक्षकलाई कारबाहीका लागि जिल्लाबाट सिफारिस गरी पठाइसकिएको तर विभागले कारबाही गर्न नसकेको उनको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्