
ध्रुवसागर शर्मा (इमेज)
म्याग्दी, वैशाख २७ । म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु पाँचजना घाइते भएका छन् ।
दर्बाङबाट निस्कोटतर्फ जाँदै गरेको ग१ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट–४ कोदाली बाङस्थित कच्चीसडकबाट अन्दाजी एकसय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मृत्यु हुनेहरुमा म्याग्दी निस्कोटकी २२ वर्षीया चुइयाँ बिक, सोही ठाउँका ४० वर्षीया भौमती बिक, १३ वर्षका स्यानुकाली बिक, ३० वर्षीय दिलसरी पुन र म्याग्दी ताकमका जिपचालक ४५ वर्षीय मनकहादुर छन्त्याल रहेका छन् ।
घाइते पाँचजनाको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी बेनी लगिएको छ ।
दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट ९ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिगुरुको कमान्डमा थप ९ जनाको टोली घटनास्थल गएको छ ।
दुर्घटना साँझ ४ बजेतिर भएको प्रहरीले जनाएको छ । जिपमा १० जना सवार थिए ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्