२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


के हुँदैछ मेलम्ची खानेपानी आयोजना ?


0
Shares

काठमाडौं, वैशाख २९ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम कसरी गर्ने भन्नेबारेमा सरकार अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन ।

सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी ९५ प्रतिशत काम सकेर छाडी हिँडेयता आयोजना ठप्प छ ।

सरकारले आगामी नीति तथा कार्यक्रममासमेत यो आयोजनालाई आगामी वर्षभित्र सक्ने जनाएसँगै झन् करिब पूरा भइसकेको आयोजनाको एक वर्ष म्याद थपिएको संकेत मिलेको छ ।

उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याउने भनिएको मेलम्ची खानेपानी आयोजनाको अन्तिम समयमा आएर पुनः अलपत्र बनेको हो ।

इटालियन कम्पनी सीएमसी दी रिभेन्नाले एक अर्ब ६५ करोड रुपैयाँ बढी खर्च भएको भनेर माग गरेकोमा कुरा नमिलेसँगै काम छाडेर हिँडेको थियो । गत माघ २१ गते ठेक्का सम्झौता तोडिएको थियो ।

सरकारले कम्पनीले राखेको दुई अर्बभन्दा बढी धरौटी रकम पनि जफत गरेको छ ।

आयोजनाको सुरुङ निर्माणको काम जम्मा ४ प्रतिशतमात्र बाँकी रहेको छ । आयोजनाको अबको कुल लागत तीन अर्ब लाग्ने अनुमान आयोजनाको छ । 

तर, ठेकेदार कम्पनी आयोजना छाडेर हिँडेको तीन महिना बितिसक्दासमेत आयोजनाले नयाँ टेन्डर आह्वान गर्न सकेको छैन ।

खानेपानी मन्त्रालय भने आयोजनाले कुनैपनि प्रतिवेदन नदिएकाले यसबारे निर्णय गर्न नसकिएको भन्दै पन्छिँदै आएको छ ।