४ असार २०८२, बुधबार | Wed Jun 18 2025


बेलायतका गोर्खा सैनिकको समस्या कुटनीतिक माध्यमबाटः मन्त्री थापा


0
Shares

काठमाडौं, बैशाख २८ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायतमा रहेका गोर्खा सैनिकका समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

ब्यवस्थापिका संसद्अन्तर्गतको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा सहभागी हुँदै परराष्ट्रमन्त्री थापाले गोर्खा सैनिकले उठाएका माग राष्ट्रिय एजेण्डा भएकाले वार्ता र छलफल गरी कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार गम्भीर भएको बताए ।

उनले गोर्खा सैनिकले उठाउँदै आएका केही मागमा उपलब्धी प्राप्त भए पनि सन् १९९७ अघिका सैनिकको हकमा विभेद कायमै रहेकाले त्यस्ता समस्या पनि समाधान गरिने बताए ।

मन्त्री  थापाले पेन्सन र तलबमा विभेद हुनु मानवअधिकारको हनन् भएको भन्दै बेलायत जस्तो प्रजातन्त्रको जननी मुलुकमा यस्तो हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे ।

समितिले राष्ट्रमा बार्षिक ३५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याउने गोर्खा सैनिकका समस्या समाधानमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको थियो ।

समितिका सदस्यहरुले प्रजातान्त्रिक मुलुक बेलायतले गोर्खा सैनिकमाथि भेदभाव गरेको र उनीहरुले उठाएका मागप्रति बेवास्ता गरेको आरोप लगाएका थिए ।

गोर्खा सैनिकले उठाएका समानताका माग यथाशीघ्र पुरा गराउने पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत उनीहरुले गरेका थिए ।