१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नारायणहिटी संग्रहालयबाट १७ करोड आम्दानी


0
Shares

गौतमबुद्ध बज्राचार्य (रासस)
काठमाडौं, वैशाख २८ । नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार संग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ ।

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रकारुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ ।

राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकान्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउनेक्रम बढ्दो छ ।

संग्रहालयकाअनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले संग्रहालयको अवलोकन गरिसकेका छन् ।

स्वदेशी दर्शककारुपमा १० लाख ६ हजार १५५ जना र नेपाली विद्यार्थीमात्रै ९ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् ।

चीन र दक्षिण एसियाली मुलुकहरुबाट आएका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जना पर्यटकले सो संग्रहालयको अवलोकन गरेका छन् ।

टिकट बिक्री तथा पार्किङ शुल्कबापत संग्रहालयले रु १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ ।

दरबारकोनजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो । नेपाल भाषामा हिटीको अर्थ धारा हो ।

विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य वि.सं. २०२० मा सुरु भइ २०२६ मा सम्पन्न भएको थियो ।

राजदरबार निर्माण हुुनुअघि वि.सं. १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिकारुपमा रहेको घरपरिसरलाई वीरशम्शेरका पालादेखि चर्चिन थालिएको हो ।

वीर शम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरुलाई यहाँ बस्न लगाइएको हो ।

रासस प्रतिनिधिसँग कुरा गर्दै नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले संग्रहालयले हाल नारायणहिटीभित्र रहेको १९ ओटा कक्ष सर्वसाधारणका लागि खुल्ला राखेको जानकारी दिए ।

बजेटको सीमितता र पूर्वाधारको अभावमा १२ ओटा कक्ष खोल्न नसकिएको उनको भनाइ छ ।

संग्रहालयमा १४२ कर्मचारी कार्यरत् छन् । संग्रहालयको बृहत्तर विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले यहाँ अवलोकनका लागि आउने आगन्तुकलाई एक दिनको प्याकेज उपलब्ध गराउने योजना रहेको बताए ।

नारायण राजदरबारभित्र घटेको दुर्दान्त घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनःनिर्माण कार्यको प्रथम चरण सकिन लागेको छ ।

भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माणकार्य वि.सं. २०७४ भित्र सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य संग्रहालयले राखेको प्रमुख ढुंगानाले बताए ।

स्व. श्री ५ त्रिभुवनबाट निर्माण गर्न लगाइएको त्रिभुवन सदनभित्र वि.सं. २०५८ जेठ १९ गते भएको हत्याकान्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार नीराजन र राजपरिवारका अन्य केही नातेदारको निधन भएको थियो ।

सो कक्षको अवलोकनपछि धादिङबाट आएका सरिता पौडेलले अझै आफूलाई राजा वीरेन्द्र र रानी ऐश्वर्यको देहावसान भइसकेको भन्ने यथार्थता पत्याउनै मुस्किल भइरहेको बताइन् ।

वि.सं. २०६५ असार १ गते स्थापना भएको नारायणहिटी संग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेका थिए ।