१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


‘रेलमार्ग ल्याउने योजना स्वागत्योग्य’, सत्तारुढ दलबाटै नीति तथा कार्यक्रमको विरोध


0
Shares

काठमाडौं, वैशाख २८ । नेकपा एमालेका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाऊ गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले सांसद झलनाथ खनालले स्थानीय निकायको निर्वाचनको मिति चाँडै तोक्नुपर्ने बताए ।

नीति तथा कार्यक्रममार्फत् क्रान्तिकारी भूमिसुधारको नीति ल्याइनु स्वागत्योग्य भएको भन्दै उनले अर्थतन्त्रको आधार रहेको कृषिलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

मध्यपहाडी राजमार्ग तीव्रगतिमा अघि बढाउन आग्रह गर्दै उनले चीनको सिमानाबाट काठमाडौं र पोखरासम्म रेलमार्ग ल्याउने योजना पनि स्वागत्योग्य रहेको उल्लेख गरे ।

काठमाडौं-तराई द्रुतमार्ग सरकार आफैंले बनाउनु राम्रो हुने उनको भनाइ थियो ।

सत्तारुढ दलकै केही सांसद भने सरकारको नीति तथा कार्यक्रमको विपक्षमा देखिएका छन् ।

शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्नेतर्फ नीति तथा कार्यक्रम मौन रहेको र भूकम्पपछिको पुनःनिर्माण ढिलो भएको भन्दै सत्तारुढ दल एकीकृत माओवादीका सांसदले विरोध गरेका हुन् ।

एमाओवादी सांसद आशा कोइरालाले नीति तथा कार्यक्रमको प्राथमिकता संविधान कार्यान्वयन भनिएपनि विस्तृत शान्तिसम्झौताका बाँकी काम सम्पन्न गर्नेतर्फ केही उल्लेख नगरेको भन्दै आपत्ति जनाइन् ।

भूकम्पपछिको पुनःनिर्माणको काम पनि ढिलो भएको भन्दै यहि गतिले पुनःनिर्माणको काम अघि बढ्न नसक्ने उनले बताइन् ।