
काठमाडौं, वैशाख २९ । नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि आन्दोलन सुरू गरेको छ ।
मन्त्रिपरिषद्बाट पारित भइ बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको जनाउँदै महासंघले आन्दोलन सुरू गरेको हो ।
सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको र विधेयकका प्रावधान प्रेस स्वतन्त्रता हनन् गर्नेखालको भएपछि महासंघ आन्दोलनमा होमिएको हो ।
संसदमा दर्ता भएको उक्त विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिए पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना भराउन सकिने उल्लेख छ ।
काउन्सिललाई सरकार नियन्त्रित अंगकारूपमा स्थापित गर्ने नियतले विधेयक ल्याइएको भन्दै पत्रकारले विरोध गरेका हुन् ।
आन्दोलनकै कार्यक्रमअन्तर्गत् आइतबार महासंघले राष्ट्रिय मानवअधिकार आयोग, महासंघका पूर्वपदाधिकारी तथा विभिन्न सन्चारकर्मीहरुसँग सामूहिक छलफल गरेको छ ।
महासंघले सोमबार सभामुख, राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने, मंगलबार संसदका विभिन्न समिति सभापति र सदस्यसँग छलफल गर्ने जेठ १ गते कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, देशैभर सरोकारवाला पक्षबीच छलफल गर्ने, जेठ ३ मा काठमाडौंमा संसदबाहिर र जिल्लामा सदरमुकामहरुमा सन्चार सामग्रीसहित प्रदर्शन गर्ने कार्यक्रम सार्वजानिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्