Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


तराईमा खडेरी र गर्मीले यस्तो हालत(भिडियो)


0
Shares

-यादव आचार्य, ईमेज

बर्दिया, बैशाख २९ । लामो खडेरीसँगै अत्याधिक गर्मी बढेपछि पश्चिम तराईको जनजीवन अस्तव्यस्त बनेको छ ।

प्रिमनसुन सुरु भैसक्दा पनि पश्चिम तराईमा पर्याप्त पानी नपरेपछि किसानले धानको विऊ छर्न पाएका छैनन् । गर्मी बढेसँगै विषालु सर्प, लामखुट्टेलगायत रेविजको प्रकोप पनि बढ्दै गएको छ ।

हिउँदमा समेत वर्षातको अनुभुती नपाएको पश्चिम तराईमा प्रिमनसुन भित्रदा समेत पानी नपर्दा यस क्षेत्रको कृषि, स्वास्थ्य लगायतका क्षेत्रहरुमा नकारात्मक प्रभाव वढ्दै गैरहेको छ ।

लामो समयदेखि पानी पर्न नसक्दा रुपन्देही, कपिलवस्तु, दाङ, बांके, बर्दिया लगायतका क्षेत्रका जलाशयहरु सुक्न थालेका छन् । ह्याण्डपम्प र इनारहरुमा पानी कम हुन थालेको छ ।

पानीका कुण्ड तथा मुलहरु समेत सुक्न थालेका छन् । केही साता अघि एकपटक पानी परेपनि यसक्षेत्रमा कुनै राहत हुन सकेको छैन । गर्मीको पारो ४० डिग्री नाघेपछि स्थानियहरु आत्तिन थालेका छन् ।

उता हिउँदमा वर्षा नहुँदा खेतीपातीमा क्षती व्यहोरेका किसानहरु पानी नपरेपछि धानको विउ समेत छर्न पाएका छैनन् ।

सिँचाई सुविधा भएका केही किसानहरुले विउ छरेपनि आकासे पानीको भरमा कृषि व्यवसाय गरेका गरीव किसानहरु भने खेत जोत्न समेत सकेका छैनन् ।

मोटरको प्रयोग गरिने भएतापनि विद्युत लोडसेडिङ्ग र कम भोल्टेजका कारण सिँचाई सुविधाबाट वञ्चित छन् । प्रकृतिबाट ठगिएका यस भेगका किसानहरु यतिखेत सरकार भए नभएको महसुस गर्न थालेका छन् ।

तराईमा परेको खडेरीले यस क्षेत्रको जन स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दै गैरहेको पाईन्छ । तातो हावा र अत्याधिक गर्मीका कारण किटजन्य रोगमा बृद्धि हुन थालेको छ ।

गर्मीका कारण विषालु सर्पहरु निस्कन थालेका छन् । एकातिर सर्पदंसका विरामीहरु वढ्ने क्रम जारी छ भने अर्कोतिर लामखुट्टेको टोकाईका कारण विभिन्न रोगहरु देखा पर्न थालेका छन् ।

अत्याधिक गर्मी हुने तराईमा स्थानिय औलो रोग समेत देखा परेको जनस्वास्थ्य कार्यालय बर्दियाका किटजन्य अधिकृत वालकृष्ण शर्मा बताउँछन् ।

तराई अत्याधिक गर्मी हुने तर उर्वर भूमी हो । यस क्षेत्रको खाद्यान्नले देशकै खाद्य सुरक्षामा महत्वपूर्ण स्थान ओगटेको पाईन्छ । यस क्षेत्रका गरीव किसानहरुलाई सिँचाईको व्यवस्था गर्दै तराईवासीको जनस्वास्थ्य सुरक्षाका लागि समयमै कदम चाल्नु जरुरी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस