४ असार २०८२, बुधबार | Thu Jun 19 2025


अदालतको आदेशपछि सप्तकोशी नदीको तटबन्ध निर्माण रोकियो


0
Shares

-रत्नप्रसाद आचार्य, ईमेज

सुनसरी, बैशाख २९ । सप्तकोशी नदीको तटबन्ध निर्माणको काम रोकिएको छ । पुनरावेदन अदालत विराटनगरको अन्तरिम आदेशपछि तटबन्ध निर्माणको काम रोकिएको हो ।

सुनसरीको बराहक्षेत्र गाविसस्थित पुल्ठेगौडामा भइरहेको तटबन्ध निर्माण तत्कालका लागि बन्द गर्न अदालतले आदेश दिएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरी लगाएर तटबन्धको काम बन्द गराएको हो ।

बर्षेनी सप्तकोशीमा आउने बाढीका कारण सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, पश्चिम कुसाहा र हरिपुर गाविसको सयौं विघा जमिन कटान गरी मानव वस्तीमा समेत क्षति पुर्‍याएपछि भारत सरकारले डेढ महिना अघिदेखि तटबन्ध निर्माणको काम सुरु गरेको थियो ।

तर, बराहक्षेत्र गाविसकी तारादेवी श्रेष्ठ र रवि राईले आफ्नो नम्बरी जग्गामा तटबन्ध निर्माण गरेको भन्दै पुनरावेदन अदालत विराटनगरमा जिल्ला प्रशासन कार्यालय सुनसरी र ठेकेदार कम्पनीलाई विपक्षी बनाई रिट हालेका थिए ।

रिटमाथि सुनुवाई गर्दै पुनरावेदन अदालतका न्यायाधीस कुमार पोखरेलको इजलासले तत्काल सप्तकोशी तटबन्धको काम बन्द गर्न अन्तरिम आदेश दिएको हो । काम बन्द भएपछि कयौं निर्माण सामाग्री अलपत्र परेका छन् ।

भारत सरकारको नियन्त्रणमा रहेको कोशी व्यारेजमा बर्षाको समयमा पानीको बहाव उच्च हुँदासमेत भारतले आफूअनुकुल मात्र ढोका खोल्ने गरेका कारण सुनसरीको खेतयोग्य जमिन कटान हुनुका साथै मानव बस्तीमा क्षति पुर्‍याउँदै आएको छ ।