१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सात सालदेखि अहिलेसम्म बनेका सबै सरकार म्यादी : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं, बैशाख २९ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २००७ सालदेखि अहिलेसम्म बनेका सबै सरकार म्यादी भएको टिप्पणी गरेका छन् ।

संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले २००७ सालदेखि अहिलेसम्म बनेका सबै सरकार म्यादी भएकाले त्यो परम्परालाई तोड्न यो सरकारलाई सबै मिलेर सघाउनुपर्ने पनि बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार म्यादी रहेको बताउनुभएको सन्दर्भमा प्रचण्डले आज यस्तो बताएका हुन् । 

भूकम्पका बेला आफ्नो पार्टी प्रतिपक्षमा भएपनि तत्कालिन सरकारलाई सहयोग गरेको स्मरण गर्दै प्रचण्डले अहिले पनि देशको राजनीतिलाई सही ट्रयाकमा ल्याउन सबै एक हुनु पर्ने बताए ।

कांग्रेसले पनि यो सरकारलाई सहयोग गर्नु पर्ने प्रचण्डको भनाइ थियो । अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकार रहेपनि प्राविधिक कारणले यो सरकारलाई त्यो स्वरुप दिन नसकिएको बताए ।

नीति तथा कार्यक्रममा केही नयाँ र मौलिक कार्यक्रम आएको तर कार्यान्वयनमा संरचनागत परिवर्तनका कारण अप्ठ्यारो हुने देखिएको प्रचण्डको भनाइ छ ।

शान्ति प्रक्रिया टुंग्याउने विषय समेटिए पनि ठोस कार्यक्रम नआएकोमा उनको असन्तुष्टि थियो ।

मधेस समस्या समाधानका विषयमा पनि स्पष्ट कार्यक्रम नरहेको टिप्पणी प्रचण्डको छ । एमाओवादी स्थानीय चुनावको विपक्षमा नरहेको तर त्यसका लागि राजनीतिक र कानूनी समझदारी जरुरी पर्ने उनले उल्लेख गरे ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रम जारी छ । हिजोबाट शुरु भएको छलफलमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै समर्थन गरेका छन् भने प्रतिपक्षी सांसदले कार्यान्वयन हुनै नसक्ने भन्दै आलोचना गरेका छन् ।

आइतबार संसद्मा पेश गरेको आगामी आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रममा भोलिसम्म छलफल गरिने र शुक्रबार प्रधानमन्त्री केपी ओलीले संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।