
गोरखा, वैशाख २९ । गोरखाको ताप्ले गाविसलाई केन्द्रबिन्दू बनाएर बुधबार दिउँसो २ः३७ बजे ४.५ म्याग्निच्यूडको पराकम्पन आएको छ ।
पराकम्पनपछि भाग्नेक्रममा गोरखामा तीनजना घाइते भएका छन् ।
सदरमुकामको शक्ति उच्च माविको कक्षा १० मा पढिरहेका खरिबोट गाविसका गणेश गुरुङको हामफाल्दा देब्रे गोडा भाँचिएको छ ।
भूकम्पले स्कुल भवन हल्लेपछि माथिल्लो तलाबाट भुइँमा हामफाल्दा गुरुङ घाइते भएको शिक्षक दुर्गाभक्त घिमिरेले बताए । उनको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।
यस्तै, वल्र्ड भिजन नामक संस्थाका कर्मचारी बझाङ जिल्ला घर भएका अमित भण्डारी पनि घाइते भएका छन् ।
भूकम्प आएका बेला भाग्नेक्रममाः लडेका उनको दाँहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनको गोरखा अस्पतालमा उपचार गरिएको छ ।
शक्तिचोकमा रहेको एभरेस्ट बैंकको सिसा झर्दा खोप्लाङ गाविसका अशोक पोखरेल घाइते भएका छन् । उनको देब्रे गोडामा चोट लागेको छ ।
पोखरेलको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको छ । पराकम्पनले गाउँगाउँका धराप घरमा पनि क्षति पुगेको बताइएको छ ।
भूकम्पले हल्लाएपछि त्रासले गर्दा विद्यालय बन्द गरिएको छ । छैटौं घन्टीपछि बुधबारका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीलाई घरघरमा पठाइएको शिक्षकले बताएका छन् ।
बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको गत वैशाख १२ मा एक वर्ष भइसक्दा पनि पराकम्पन जानेक्रम नरोकिँदा मानिसमा त्रास बढ्दो छ । रासस
प्रतिक्रिया दिनुहोस्