४ असार २०८२, बुधबार | Thu Jun 19 2025


गोरखामा चारजना घाइते, एकलाई उपचारका लागि भरतपुर लगियो, बुधबार दुई पराकम्पन


0
Shares

गोरखा, काठमाडौं, वैशाख २९ । गोरखालाई केन्द्रबिन्दू बनाएर बुधबार दिउँसो आएको पराकम्पनमा परी गोरखामा चारजना घाइते भएका छन् ।

दिउँसो २ बजेर ३७ मिनेटमा गोर्खाको ताप्लेनजिकै केन्द्रबिन्दू भइ आएको ४.५ म्याग्निच्यूडको पराकम्पनले सदरमुकामस्थित एभरेस्ट बैंकको सिसा खसेर लाग्दा खोप्लाङ–८ का अशोक पोखरेल घाइते भएका छन् ।

यस्तै, सदरमुकामस्थित शक्ति उच्च माविमा कक्षा १० मा पढ्ने गणेश गुरुङ घाइते भएका छन् । भूकम्पले भवन हल्लाएपछि माथिल्लो तलाबाट हाम्फाल्दा उनको खुट्टा भाँचिएको हो ।

त्यसैगरी, गोरखामै क्रियाशील वल्र्डभिजन नामक संस्थाका कर्मचारी बझाङ घर भएका अमित भण्डारी भाग्नेक्रममा लडेर घाइते भएका छन् भने गोरखामा बस्दै आएका सर्लाहीका हरिन्दर साह पनि घाइते भएका छन् ।

उनीहरुमध्ये गणेश गुरुङलाई उपचारका लागि भरतपुर लगिएको छ भने अरुको गोरखा अस्पतालमै उपचार भइरहेको गोर्खा प्रहरीले जनाएको छ ।

बुधबार भूकम्पले गोर्खाका विभिन्न गाउँका घरहरुमा क्षतिसमेत भएको जनाइएको छ । पराकम्पनपछि बुधबार गोरखाका विद्यालयहरुमा छुट्टी दिइएको थियो ।

यसअघि, बुधबारै बिहान बिहान ७ बजेर ४ मिनेटमा धादिङलाई केन्द्रबिन्दू बनाएर ४.४ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।

गोरखा केन्द्रबिन्दू भएर गत वर्ष वैशाख १२ गते गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूडभन्दा माथिका ४५४ ओटा पराकम्पन आइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वर्ष वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दू भएर ७.८ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो भने ठीक एक वर्ष अगाडि वैशाख २९ गते सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर पनि ठूलो भूकम्प गएको थियो ।