
-ध्रुव भट्टराई, ईमेज
विराटनगर, बैशाख ३० । विराटनगरमा चक्रपथ निर्माणको काम सुरु भएको डेढ दशक वितिसकेको छ । चक्रपथको ट्रयाक खोल्न सुरु भएको लामो समय वितिसक्दा पनि यसले पूर्णता पाउन सकेको छैन ।
विराटनगरको समग्र विकास एवम् ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने भन्दै २०५४ सालमा शिलान्यास गरिएको चक्रपथ निर्माणमा ढिलाई हुँदा विनियोजित बजेटसमेत खर्च हुन सकेको छैन ।
विराटनगर चक्रपथको शिल्यान्यास भएको डेढ दशक वितिसक्दा समेत सडक निर्माणको कार्यले अझै पूर्णता पाउन नसकेको हो ।
तत्कालिन योजना तथा भौतिक यातायत मन्त्री विजयकुमार गच्छदारले ४२ किलोमिटर लामो विराटनगर चक्रपथको शिल्यान्यास गरेका थिए ।
सरोकारवाला निकायको उदासीनता र स्थानीयको अवरोधका कारण चक्रपथको निर्माण कार्यलाई जोड्न अझै पांच किलो मिटर वाँकी रहेको छ ।
लामो समयदेखि चक्रपथ निर्माण कार्यमा ढिलाई हुंदा अहिले चक्रपथलाई स्थानीयले गौचरणको रुपमा प्रयोग गर्दै आएका छन् ।
चक्रपथ निर्माणका लागि २०५६ सालदेखि हालसम्म सरकारले १४ करोड ५७ लाख रुपैयां विनियोजन गरेपनि निर्माणको कामले गति नपाउंदा हालसम्म ४ करोड ६१ लाख रुपैयां मात्र खर्च भएको अवस्था छ ।
विराटनगरको विकासको गति दिने चक्रपथ निर्माणको कार्य कछुवा गतिमा सञ्चालन भएको भन्दै चक्रपथको निर्माणलाई तिव्रता दिनु पर्ने उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवाल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्