
काठमाडौं, बैशाख ३० । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । आजको बैठकमा नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर प्रचारमुखी नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाएका छन् ।
बैठकमा कांग्रेस सांसद प्रकशमान सिंहले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको टिप्पणी गरे । उनले यो सरकारले लागू गर्न नपर्ने भनेर प्रचारमुखी कार्यक्रम ल्याएको आरोप पनि लगाए ।
स्थानीय निकायको निर्वाचनका लागि सबैभन्दा पहिले नेपाली कांँग्रेसले आवाज उठाउँदै आएको भन्दै उनले त्यसका लागि राजनीतिक सहमति आवश्यक पर्ने बताए ।
उनले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई बिना कारण फिर्ता बोलाइएको भन्दै सरकारले सहमति नचाहेको आरोप लगाए । तर, एमाले सांसद अमृत बोहोराले भने नीति तथा कार्यक्रमलाई निरपेक्ष ढंगले मात्रै नहेर्न प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।
नीति तथा कार्यक्रम एक वर्षको लागि मात्रै भएकाले यो म्यादी नै हुने उनको भनाई थियो । वर्षौसम्म हुन नसकेको स्थानीय निकायको निर्वाचन मंसीरमा गर्नै भनिएकाले राष्ट्रिय सहमति जुटाउनेतर्फ लाग्न उनले सरकारलाई आग्रह गरे ।
एकीकृत माओवादीका सांसद् जनार्दन शर्माले नयाँ आशाको रुपमा नीति तथा कार्यक्रम आएको भन्दै कार्यान्वयनका लागि ध्यान दिनुपर्ने बताए ।
संविधान कार्यान्वयनसँग नीति तथा कार्यक्रम जोडिएको भन्दै उनले संविधान कार्यान्वयन हुन नसके नीति तथा कार्यक्रम पनि कार्यान्वयन हुन नसक्ने दाबी गरे ।
यसअघिका नीति तथा कार्यक्रम कति कार्यान्वयन भए भन्ने विषयमा सरकार र प्रतिपक्षीले समीक्षा गर्नुपर्नेमा उनको भनाई थियो ।
बैठकमा रापप्रा नेपालका सांसद्हरुले भने नीति तथा कार्यक्रम सकारात्मक भन्दै स्वागत गरेका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्