१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


हिमतालमा बालक बेपत्ता भएको १० महिनापछि खोजीका लागि विदेशी विशेषज्ञसहितको टोली प्रस्थान


0
Shares

सोलुखुम्बु, वैशाख २९ । सोलुखुम्बुको गोक्यो हिमतालमा गत साउनमा बेपत्ता भएका दुई बालकको खोजी गर्न विदेशीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

तालमा बेपत्ता भएको करिब १० महिनापछि दुई बालकको खोजी गर्न विदेशी विशेषज्ञसहित सशस्त्र प्रहरीको गोताखोरको संयुक्त टोली गोक्यो ताल प्रस्थान गरेको हो ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन, केन ग्रेइसी र सशस्त्र प्रहरी बलका निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पा अत्याधुनिक उपकरणसहित गोक्यो प्रस्थान गरेको टोलीका सदस्यसमेत रहेका पत्रकार विक्रम श्रेष्ठले जानकारी दिए ।

हिमतालमा डुबेका बालकको खोजीका लागि शुक्रबार रोबर्ट, जेनेरेटर, ड्राइ सुटलगायत सामग्री हेलिकोप्टर मार्फत् गोक्यो हिमताल पुर्‍याइएको छ भने टोली रामेछापबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

२०७५ साउन १९ गते सोलुखुम्बुको खुम्बुपासाङल्हामू–४ स्थित खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएका बालबालिकामध्ये तीन जना पौडी खेल्ने क्रममा गोक्यो तालमा बेपत्ता भएका थिए । बेपत्ता भएका बालकमध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेका थिए ।