१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेपालका लागि चिनियाँ रेल हिँड्यो, यसरी आइपुग्छ सामग्री काठमाडौं


0
Shares

काठमाडौं, वैशाख ३० । नेपाल र भारतबीच पारवहन सम्झौता भएको दुई महिना नबित्दै चीनले नेपाललाई लक्षित गरी रेलसेवा सुरु गरेको छ ।

चीनको उत्तर पश्चिम गान्सु प्रान्तको राजधानी लान्झोउबाट उपभोग्य सामग्री बोकेर चिनियाँ रेल सिगात्सेलाई हिँडेको ‘पिपुल्स् डेली’ अनलाइनले जनाएको छ ।

रेलको अन्तिम स्टेसन सिगात्सेबाट ती दैनिक उपभोग्य र अरु व्यापारिक सामग्री काठमाडौं ल्याइने छ ।

लान्झोउबाट २४ सय ३१ किलोमिटर रेलमार्ग हुँदै सिगात्सेसम्म, सिगात्सेबाट केरुङसम्म ५ सय ६४ किलोमिटर सडकमार्ग र केरुङबाट १ सय ६० किलोमिटर दुरी पार गरी चिनियाँ सामान काठमाडौं आइपुग्नेछ ।

यसरी ३१ सय ५५ किलोमिटरको दूरी पार गर्दै लान्झोउबाट चिनियाँ सामान १० दिनमा काठमाडौं आइपुग्नेछन् ।

यो समय समुद्रीमार्गबाट भारत हुँदै काठमाडौं सामग्री ल्याउन लाग्ने समयभन्दा ३५ दिने छिटो हुने देखिएको जनाइएको छ ।

लान्झोउबाट सामग्री बोकेका रेलमा एकपटकमा ४३ ओटा कार र ८६ ओटा कार्गो कन्टेनर बोक्ने क्षमता रहेको छ ।

यसले नेपालका लागि दैनिक उपभोग्य वस्तु र घरासायी सामग्री ढुवानी गर्ने चाइना रेल्वे कन्टेनर कर्पोरेसनका कार्यबाहक निर्देशकले बताएका छन् ।

यो रेलको सुरुआतबाट चीनको गान्सु, किङघाइ प्रान्त, तिब्बतको स्वायत्त क्षेत्र, नेपालसहित दक्षिण एसियाली क्षेत्रबीच औद्योगिक सम्बन्ध तीव्ररुपमा विकास हुने पुग्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा सम्पन्न चीनको भ्रमणकाक्रममा चीनसँग ऐतिहासिक पारवहन सम्झौता भएको थियो ।

यो सम्झौतापछि भूपरिवेष्ठित मुलुक नेपालले पारवहनमा भारतकोमात्र भर पर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास लिइएको थियो ।