१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


सडक सञ्जालसँग जोडिएपछि गाउँको मुहार नै फेरियो (भिडियो)


0
Shares

डम्मर बुढा मगर

बागलुङ, वैशाख २९ । स्थानीय तह गठन भएपछि बाग्लुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिएका छन् । योसँगै दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि निकै सहज भएको छ ।

पछिल्लो समय बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुुविधा पुगेपछि स्थानीयबासी उत्साहित बनेका छन् । सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकी–नसकी हिड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएको छ ।

गाउँमा सेवा सुविधा नभएपछि शहरतर्फ छिरेकाहरु पनि गाउँको मुहार फेरिन थालेपछि दंग पर्न थालेका छन् । बागलुङ सदरमुकामदेखि १४ किलोमिटर किलोमिटर पश्चिममा रहेको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश गाउँका स्थानीय मनबहादुर जिसीले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताउँछन् ।

पहिले पहिले सडकको सुविधा नहुँदा कृषि उत्पादन कि त बारीमै कुहेर सकिन्थ्यो,  कि छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो । तर सडक पुगेपछि उत्पादनले मूल्य पाउने भएपछि व्यावसायिक कृषकहरु पनि मख्ख परेका छन् । त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको छ ।

अर्कोतिर सडकको सुविधा भएपछि पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्दै गएको छ । ग्रामीण क्षेत्रमा सडकका साथै अन्य आधारभूत विकासका पूर्वाधार खडा गर्न सके बढ्दै गएको शहरमोह केही हदसम्म घट्दै जाने थियो ।

भिडियो हेर्नुहोस्