३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सामुदायिक वनमा घ्यूकुमारी खेर जाँदै


0
Shares

कञ्चनपुर, वैशाख २९ । आयुर्वेदिक औषधि उत्पादन गर्न कञ्चनपुरका वनमा लगाइएको घ्यूकुमारी बिक्री नभएपछि खेर जान थालेको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित सहिद स्मृति सामुदायिक वनमा रोपिएको घ्यूकुमारी बिक्री नभएपछि खेर जान थालेको हो । सामुदायिक वनले २०७३ सालमा चितवनको पाम एग्रोभेट कम्पनीसँग प्रतिक्विण्टल २ हजार रुपैयाँका दरले उत्पादित घ्यूकुमारी बिक्री गर्ने सम्झौता गरेको थियो ।

सम्झौताअनुसार कम्पनीले रकम नदिएकाले घ्यूकुमारी वनमै खेर गएको सहिद स्मृति सामुदायिक वनका अध्यक्ष कर्णबहादुर विष्टले बताए । उनले वनको आम्दानीको स्रोत बढाउने उद्देश्यले घ्यूकुमारी लगाइए पनि कम्पनीबाट ठगिएको गुनासो गरे ।

विष्टका अनुसार प्रतिबोट ४० रुपैयाँका दरले एक विघा जमिनमा ६ हजार विरुवा रोपिएको थियो । तर कम्पनीले १० रुपैयाँका दरले खरिद गर्ने बताएपछि सम्झौता रद्द भएको हो । उत्पादन भएको घ्यूकुमारीको बिक्री गर्न नसकेपछि वनको साढे तीन लाख रुपैयाँ लगानी खेर गएको बताइएको छ ।