
रसुवा, वैशाख ३१ । नेपाल–चीनबीच कारोबार भइरहेको एकमात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालबाहक कन्टेनरको आवागमन क्रमिकरुपमा बृद्धि हुँदै गएको छ ।
ट्राफिक प्रहरीकाअनुसार दैनिकरुपमा मालबाहक कन्टेनर ५० भन्दा बढी काठमाडौं र त्यतिकै संख्यामा केरुङतर्फ जाने गरेको छ ।
अहिले स्याउ बढी मात्रामा भित्रिएको छ भने तयारी र रोलकपडा, जुत्ता चप्पल, विद्युतीयसमेतका सामग्री आयात् हुने गरेको बताइएको छ ।
सडक साँघुरो भएका कारण ट्राफिक व्यवस्थापन गर्न नेपाल प्रहरी अहोरात्र खटाइएको बताउँदै जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले वर्षाका कारण केही दिनअगाडि अवरुद्ध नुवाकोट–गेर्खु गाविस इलाकाको सडक एकतर्फीरुपमा खुलेको जानकारी दिए ।
प्रमुख भन्सार अधिकृत केदार पनेरुकाअनुसार गत मंसिर १४ गतेदेखि हालसम्म एक अर्ब ३१ करोड राजस्व संकलन भइसकेको र केरुङबाट सामान बोकी आउने कन्टेनरलाई ओहर–दोहरमा सहजता ल्याउन मूलखर्क र सानुभार्खु क्षेत्रमा सडक विभागमार्फत् सडक मर्मतकार्य अगाडि बढिरहेको बताए ।
रसुवागढी क्षेत्र व्यवस्थितपार्न एकीकृत भवन निर्माणका लागि भवन तथा सहरी विकास विभाग एवं गल्छी–मैलुङ सडक स्तरोन्नति गर्न सडक विभागमार्फत् ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताउँदै प्रमुख भन्सार अधिकृत पनेरुले स्याफ्रुबेसी–मैलुङखन्डको नयाँ सडक निर्माण गर्न नेपाली सेनाबाट छिटो–छरितो काम भइरहेको जानकारी दिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्