१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


0
Shares

काठमाडौं, वैशाख ३१ । व्यवस्थापिका–संसदले आर्थिक वर्ष २०७३/०७४ का लागि सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत् गरेको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा चार दिनसम्म छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत् गरिएको उक्त प्रस्तावलाई ध्वनिमतका आधारमा बहुमतले अनुमोदन गरेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेको उक्त प्रस्तावमा भनिएको छ–‘राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसदको दोस्रो अधिवेशनलाई वैशाख २६ गते आइतबारका दिन गरेको सम्बोधनको लागि व्यवस्थापिका–संसदको यो बैठक राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ ।’

यसअघि सो प्रस्तावमाथिका संशोधनकर्ता नेपाली कांग्रेसका सांसद रमेश लेखकको प्रस्ताव निर्णयार्थ प्रस्तुत् गरिएकोमा सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

त्यस्तै, धन्यवादको प्रस्तावमाथि सांसदहरु नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापामगरले राखेको संशोधन प्रस्तावसमेत सभाको बहुमतले अस्वीकृत गर्‍यो ।

खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका सांसद रामकुमार राईको प्रस्तावसमेत बैठकले अस्वीकृत गरेको छ । रासस

फाइल फोटो