२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


राष्ट्रिय बक्सिङ असार ७ गतेदेखि गर्ने घोषणा, केन्द्रले सहयोग नगरेको आरोप


0
Shares

काठमाडौं, वैशाख ३१ । ललितपुर जिल्ला बक्सिङ संघले यही असार ७ देखि ११ गतेसम्म राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘ओलम्पिक डे’को अवसर पारेर गर्न लागिएको प्रतियोगितामा चौथो राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता तथा प्रथम नोभिस जुनिर बक्सिङ प्रतियोगिताका खेल हुनेछन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रतियोगिता आयोजना गर्न नेपाल बक्सिङ संघले भने आवश्यक सहयोग नगरेको आरोप लगाए ।

राष्ट्रिय खेलकुद परिषदमार्फत् नेपाल बक्सिङ संघसँग प्रतियोगिता वैशाखमै गर्न स्वीकृति माग्दा संघले असहयोग गरेको अवालेको आरोप छ ।

झन्डै डेढ महिनापछि संघले असार मसान्तमा प्रतियोगिता गर्न स्वीकृति दिएपनि उक्त समयमा मौसमका कारण अप्ठ्यारोपर्ने भएकाले असार पहिलो साता प्रतियोगिता गर्न लागिएको तर्क आयोजकको छ ।

प्रतियोगितामा २६ जिल्ला, ३ विभागीय टोली र अरु क्लब गरी ३७ टिमका झन्डै ४ सय खेलाडी सहभागी हुनेछन् ।

यसपटक खुल्लातर्फ पुरुषका १० र महिलाका ७ स्पर्धा समावेश गरिनेछन् भने नोभिसअर्थात् जुनियरतर्फ ७ तौल समूहका खेल खेलाइनेछ ।

प्रतियोगिता आयोजना गर्न करिब २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।