१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


संसदमा प्रधानमन्त्रीको जवाफ, यसरी गरे कटाक्ष (भिडियोसहित)


0
Shares

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्को प्रतिनिधिसभाको निर्वाचनसम्म रहने दाबी गरेका छन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको शुक्रबार व्यवस्थापिका–संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले कसैले टिका–टिप्पणी गर्दैमा सरकार नहट्ने प्रस्ट गरे ।

संविधानले संसदको अवधि ७४ माघ ७ सम्मका लागि भनेकाले सरकार अनन्तकालका लागि नहुने र आवधिक निर्वाचन गरिने उनले बताएका हुन् ।

आफ्नो सरकारलाई ‘म्यादी’ भनेकामा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले ‘लोकतन्त्रमा समय समयमा निर्वाचनका लागि जनतामा जानुपर्ने र आवश्यक परे सरकारले संसदसमेत परिवर्तन गर्नसक्ने भएपनि सबैले स्थिरतामै जोड दिनुपर्छ’–भने ।

प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रमलाई ‘कर्मकान्डी’ भयो भनेर टिप्पणी गरिएकामा पनि आक्रोश पोखे ।

उनले नीति तथा कार्यक्रमभन्दा छलफलचाहिँ कर्मकान्डी भएको जवाफ दिए ।

नीति तथा कार्यक्रम देश बनाउने आकांक्षा र विकासको सोचकासाथ ल्याइएको जिकिर उनले गरे ।

अदालतमा राजनीतिक हस्तक्षेप भएको भन्ने विपक्षीको आरोप अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले ‘विगतमा जस्तै भागबन्डा भएन र आफ्नो भागबाट कोही परेनन् भनेको त होइन ?’ भनेर कांग्रेसलाई प्रश्न गरे ।

स्थानीय चुनाव घोषणा संविधान प्रतिकूल नरहेको भन्दै उनले यसमा एकजुट हुन सबै दललाई आह्वान पनि गरे ।

चुनावका लागि आवश्यक कानुनी र भौतिक पूर्वाधारको तयारीमा सरकार लागेको प्रस्ट गर्दै उनले स्थानीय तहको पुनःसंरचना गर्न केही समय लाग्ने भएकाले सरकार निर्वाचन गर्ने निर्णयमा पुगेको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणमा प्रविधि र स्रोत दुबै हिसाबले सरकार समक्ष रहेको पनि बताए ।

संसदको अर्थ समिति र विकास समितिले दिएको निर्देशनलाई सम्मान गर्दै द्रुतमार्ग आफैंले निर्माण गर्ने प्रस्ताव गरिएको उनले बताए ।

यसैबीच, संसदबाट शुक्रबार नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउने तयारी सरकारको छ ।

भिडियो हेर्नुहोस्