१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सरकार छाड्न तयार छु : दाहाल, पार्टी एकताको विपक्षमा छैन : वैद्य


0
Shares

काठमाडौं, वैशाख ३१ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू तत्कालीन विद्रोही सेना र पार्टीको प्रमुख भएकाले युद्धकालका सबै घटनाको जिम्मेवारी लिने’ बताउँदै ‘पार्टी एकता हुन्छ भने सरकार छाड्न पनि तयार’ रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा गरिएको बृहत् शान्ति–सम्झौता र युद्धकालीन मुद्दा विषयक अन्तरक्रियामा उनले बृहत् शान्ति–सम्झौता कार्यान्वयन नभएपनि प्रक्रियामा रहेको बताए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संक्रमणकालीन न्यायको सिद्धान्तले राजनीतिक परिर्वतनलाई आत्मसात् गर्न नसक्नुले ठूलो समस्या खडा गरेको भन्दै समस्या समाधान गर्न सबै पक्षबीच नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै वैद्यले त्यसका लागि कमी–कमजारीको समीक्षा जरुरी भएको बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाइँलगायतले सत्तारुढ दुईघटक एमाले र एमाओवादीबीच भएको ९ बुँदे सहमतिले न्याय पाउने द्वन्द्वपीडितको अभिलाषामा तुषरापात् गरेको टिप्पणी गरे ।

पाँचओटै माओवादी घटकले आयोजना गरेको कार्यक्रममा माओवादी नेता–कार्यकर्ताका साथै मानवअधिकारकर्मीहरुको पनि सहभागिता थियो ।

अरु धेरैजसो वक्ताले छिन्न–भिन्न भएका माओवादीलाई अस्तित्व जोगाउनकै लागि भएपनि एक हुन आग्रह गरेका थिए ।