५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


बाढीले सल्यानको दोभानबजार डुबानमा, रोल्पामा १२ घरमा क्षति, बस बगायो


0
Shares

सल्यान, रोल्पा, वैशाख ३१ । विहीबार राती परेको अविरल वर्षापछि स्थानीय चिनाली खोलामा आएको बाढीका कारण सल्यानको उत्तरी भेगमापर्ने बाफुखोला गाउँ विकास समिति वडा नम्बर–३ स्थित दोभानबजार डुबानमा परेको छ ।

बाढीले बजारमा रहेका १० ओटा पसलमा क्षति पुर्‍याउनुका साथै तीनओटा मोटरसाइकल बगाएको छ ।

बाढीले वडा नम्बर–१, २, ३, ४ र ८ मा रहेको ३ सय रोपनी खेतीयोग्य जमिन पनि बगाएको छ । जसमा १२ लाख बराबरको आलु नष्ट भएको प्रहरीले जनाएको छ ।

बाढीले सिँचाइका लागि राखिएका पाइपसमेत बगाएको छ ।

बाढीले खोला आसपासका खेतमा कटान गर्नुका साथै छिमेकी जिल्ला रोल्पाको जिनावाङ गाविसस्थित जिनावाङ बजारमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक श्यामकुमार केसीले जानकारी दिए ।

उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोलीसहित प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको टोली घटनास्थल पुगेको छ ।

रोल्पामा १२ घरमा क्षति, बस बगायो
रोल्पामै जिनावाङ–१ मा बाखुखोलामा बाढी आउँदा स्थानीयका १२ घरमा क्षति हुनुका साथै एक बस र एउटा ट्याक्टरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिए ।

बाढीमा परी बगेर विहीबार रोल्पामा जिनावाङ–१ का टेकबहादुर घर्तीको पनि मृत्यु भएको थियो ।