Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


मधेसी दलको सिहंदरबार घेर्ने यस्तो छ तयारी


0
Shares

काठमाडौं, जेठ  १ । मधेसी दलले संघीय गठबन्धनको नेतृत्वमा २ र ३ जेठमा सिंहदरबार घेराउ कार्यक्रम तय गरेका छन् । १ जेठमा काठमाडौंको शान्तिवाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र २ जेठदेखि सिंहदरबार घेराउ गर्ने गठबन्धनको कार्यक्रम छ ।

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले माइतीघर मन्डलामा शान्तिपूर्ण र भद्र रूपमा धर्नामा सहभागी हुने कार्यक्रम तय भएको बताए । संयुक्त मधेसी मोर्चाको नेतृत्वमा १० महिनासम्मको मधेस आन्दोलन निष्कर्षमा नपुगेपछि मधेसी दल काठमाडौंकेन्द्रित भएका हुन् ।

आन्दोलन सशक्त बनाउने तयारी

दश महिनादेखि जारी मधेस आन्दोलन अनिश्चितकालीन हुने संकेत देखिएको छ । मधेसी दलले संयुक्त मोर्चा विस्तार गरी संघीय गठबन्धन बनाएर आन्दोलन सशक्त बनाउने निर्णय गरेका छन् ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने भन्दै वार्ता बहसमै नरहेको बताए । ‘अहिले हामीले आन्दोलनबाहेक केही सोचेका छैनौँ,’ शुक्रबार संघीय समाजवादी फोरम कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘वार्ता हुने र आन्दोलन टुंगिने कुरामा बहस नै नगरौँ ।

मोर्चाले केही दिनअघि सरकारले बोलाएको वार्तामा तत्काल नबस्ने निर्णय गरेको थियो । तमलोपाका उपाध्यक्ष वृजेशचन्द्र लालले ०७३ साल आन्दोलनमै बित्ने सम्भावना रहेको बताए । मोर्चाका एक नेताका अनुसार मधेसमा तत्काल आन्दोलन उठ्ने अवस्था नरहेको र मोर्चाभित्रको विवादका कारण पनि सरकारसँग सहमति जुट्ने सम्भावना कम छ ।

११ बुँदे ठीक कि २६ बुँदे

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ बुँदे माग राखेर मधेस आन्दोलन गरेको थियो । त्यसैमा केन्द्रित भएर मोर्चाले सरकारसँग ३६ पटक वार्तासमेत गरेको थियो ।

तर, संघीय गठबन्धनले २६ बुँदे नयाँ माग सार्वजनिक गरेपछि ११ बुँदे माग ठीक कि २६ बुँदे भन्ने विवाद मधेसी दलभित्र छ । तर, गठबन्धनका संयोजक उपेन्द्र यादवले २६ बुँदाभित्र ११ बुँदा परेकाले समस्या नरहेको बताए ।

‘२६ बुँदाभित्र ११ बुँदा पनि परेका छन् । बाँकी बुँदा आन्दोलनका क्रममा थपिएका मात्रै हुन्, केही फरक छैन,’ यादवले भने । तर, सरकारले २६ वैशाखमा वार्तामा बोलाउँदा मोर्चालाई सम्बोधन गरी पत्र लेखेको थियो ।

गठबन्धनविरुद्ध चुरेभावर

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले संघीय गठबन्धनका मागविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संघीय गठबन्धनले काठमाडौंको तिनकुनेस्थित समाजवादी फोरमको कार्यालयमा पत्रकार सम्मेलन गरिरहेका वेला ललितपुरको लगनखेलमा चुरेभावरले उपत्यकास्तरीय कार्यकर्ता प्रशिक्षण गरिरहेको थियो ।

प्रशिक्षणमा चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले अनिश्चितकालीन बन्द, हडताल, घेराबन्दीका कार्यक्रम कुनै पनि दल वा संघसंस्थाले गरेमा प्रतिकार गर्ने बताएका थिए ।

प्रशिक्षणमा उनले भने, ‘राजनीतिक मागको नाममा देशलाई अस्तव्यस्त बनाउने, जनताको दैनिकी कष्टकर बनाउने खालका कार्यक्रम ल्याएमा त्यसको प्रतिकारमा चुरेभावर जान्छ ।’

सरकार आतंकित बनाउदै छ
उपेन्द्र यादव, संयोजक, संघीय गठबन्धन

गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम सार्वजनिक गरेपछि सरकारले व्यापक सुरक्षाकर्मी परिचालन गरेर जनतालाई आतंकित बनाउने काम गर्न थालेको छ । हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ भन्दा सरकार यति धेरै आतंकित हुन जरुरी थिएन ।

तीन हजार सुरक्षाकर्मी परिचालन हुन्छ
विक्रम थापा, प्रमुख
महानगरीय प्रहरी परिसर

सिंहदरबार घेराउ गर्ने कार्यक्रम सार्वजनिक भएपछि संयुक्त सुरक्षा रणनीति बनाइएको छ । शान्तिपूर्ण आन्दोलनका क्रममा असामाजिक गतिविधि, गलत तत्त्वको घुसपैठ नहोस् भनेर पनि हामीले व्यापक सुरक्षाकर्मी परिचालन गरेका छौँ । सिंहदरबार र त्यसका महत्त्वपूर्ण नाकाको सुरक्षाका लागि करिब तीन हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
-योगेश ढकाल, नयाँ पत्रिका दैनिकबाट