
काठमाडौं, वैशाख २८ । हङकङको संसदमा मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्नेगरी कानुन परिवर्तन गर्ने विषयमा विवाद उत्पन्न भएपछि शनिबार सांसदहरुबीच झडप भएको छ ।
सांसदहरुबीच हात हालाहाल हुँदा केही सांसद घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्वतन्त्र हङकङ पक्षधर सांसदहरुले विधेयकको विरोध गरेपछि संसदमा तनाव उत्पन्न भएको थियो ।
आलोचकहरुले प्रस्तावित कानुनले हङकङको स्वतन्त्रता खुम्च्याउने बताएका छन् ।
प्रस्तावका पक्षधरहरुले भने हत्यामा आरोपी एकजना कैदीलाई ताइवान सुपुर्दगी गर्न कानुन संशोधन गर्न लागेको दाबी गरेका छन् ।
ताइवानमा बिदा मनाउनेक्रममा आफ्नी प्रेमिकाको हत्या गरी हङकङ पुगेका एकजना आरोपीलाई ताइवानले सुपुर्दगी गर्न आग्रह गर्दै आएको छ ।
तर, कानुनको अभावमा हङकङले सुपुर्दगी गर्न नसक्ने जनाउँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्