५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


कक्षा ११ को परीक्षा भोलिदेखि, तीन लाख ६९ हजार परीक्षार्थी, मोबाइल निषेध


0
Shares

भक्तपुर, जेठ १ । उच्च माध्यमिक शिक्षा परिषद सानोठिमीले आइतबार (भोलि) जेठ २ गतेदेखि कक्षा ११ को परीक्षा देशभर सुरु गर्ने भएको छ ।

परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा १२ गतेसम्म सन्चालन हुनेछ ।

परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने जनाइएको छ ।

विभिन्न प्रकारका अपांगता भएका व्यक्ति, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ ।

परीक्षा सन्चालन अवधिभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषदबाट खटिएका जिम्मेवार व्यक्तिबाहेकका व्यक्तिलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्णरुपमा निषेध गरिएको छ ।

यस्तै, वैशाख २० गतेबाट देशभर सुरु भएको कक्षा १२ को परीक्षा शुक्रबारबाट सम्पन्न भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद सानोठिमीले देशभर कुल ९२१ परीक्षा केन्द्रमार्फत् वैशाख ३१ गतेसम्म कुल ८२ ओटा विषयको परीक्षा सन्चालन गरेको थियो ।

परीक्षामा तीन लाख ४६ हजार ४२७ जना परीक्षार्थी सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ भने परीक्षा मर्यादाविपरीत सामूहिकरुपमा चोरी भएको पाइएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यवस्था गरिएको छ ।

परिषदका उपाध्यक्ष डा. चैतन्य शर्माले शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय उपनिर्देशक, क्षेत्रीय प्रशासक, जिल्ला शिक्षा अधिकारीलगायत मन्त्रालय मातहतका विभिन्न व्यक्तिको नेतृत्वमा ३१ ओटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गर्ने व्यवस्था गरिएको जानकारी दिए । रासस